बर्दियाका बाढी पीडित भोकभोकै, पिउने पानीसमेत पाएनन्

काठमाण्डु टुडे २०७१ भदौ २ गते ३:२८ मा प्रकाशित

काठमाण्डु, २ भदौ– सरकारले राहत र उद्धारकार्य जारी रहेको दाबी गरिरहेको भए पनि बर्दियामा बाढीका कारण विस्थापित भएकाहरु खाने कुराको अभावमा मारमा परेका छन् ।
बाढीबाट विस्थापित १८ हजार २ सय सर्वसाधारणलाई खाने कुरा र पिउने पानीको अभाव चरम भएको हो । विद्यालय तथा अस्थायी शिविरमा राखिएका उनीहरुलाई हेलिकोप्टरबाट चाउचाउ र बिस्कुट वितरण गरिएको छ ।

तर चाउचाउ र बिस्कुट खान नसक्ने वृद्धावृद्धा, बालबालिका र सुत्केरी मारमा परेका हुन् । यसैबीच बाढीले बगाएर बेपत्ता भएका तीन जनाको शव सोमबार बिहान बबई नदी किनारमा फेला परेको छ । अझै २० जना बेपत्ता छन् । उता सुर्खेतको बाढी प्रभावित क्षेत्रमा पिउेन पानीको अभाव भएको छ । पानी आपूर्ति सुचारु हुन अझै१० दिनत लाग्ने स्थानीय प्रशासनले जनाएको छ ।

बाढीले पोल ढालेका कारण अवरुद्ध भएको बिजुली र टेलिफोन सेवा समेत अझै सुचारु हुन सकेको छैन । उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले हिजो स्थलगत निरीक्षणका क्रममा मध्य पश्चिमका बाढी प्रभावितलाई तत्काल राहत तथा उद्धरकार्यलाई तीव्रता दिन स्थानीय प्रशासनहरुलाई निर्देशन दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us