बाढीपहिरोले देश आक्रान्त भएका बेला चरीको कुरा नगर: बामदेव

काठमाण्डु टुडे २०७१ भदौ १ गते ४:२० मा प्रकाशित

काठमाण्डु, १ भदौ– उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले दिनेश अधिकारी ‘चरी’ मारिएको विषयमा सरकारका तर्फबाट छानबिन समिति गठन bamdevनहुने बताएका छन् ।
चरी हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै शनिबार साँझ ललितपुरको पुलचोकस्थित मन्त्री निवास पुगेका चरीका आफन्तलाई गौतमले यस्तो बताएका हुन् ।

त्यस क्रममा गौतमले देशभर बाढीपहिरोका कारण दर्जनौं सर्वसाधारणको ज्यान गएको, कयौं हराइरहेको तथा सयौं मानिस घरबारबिहीन भएको अवस्थामा आफू चरी प्रकरणमा अल्झन नसक्ने खरो जवाफ दिएका थिए ।

घटनाबारे आफूले अध्ययन गरिरहेको र अध्ययन सकिएपछि मात्र छानबिन समिति गठन हुने/नहुनेबारे भन्न सक्ने बताएका थिए । ‘मुलुक बाढी पहिरोको चपेटामा छ, ठूलो धनजनको क्षति भएको छ’, गौतमको भनाइ उद्धृत गर्दै उनका प्रेस सहयोगी विश्वमणि सुवेदीले काठमाण्डु टुडेसँग भने, ‘पहिरो प्रभावितलाई राहत र उद्धार वितरणपछि घटनाबारे अध्ययन र परामर्श गर्छु, त्यसपछि मात्र छानबिन समिति गठन हुने/नहुनेबारे भन्न सक्छु ।’

गौतमले घटनाको अध्ययनपछि प्रहरीको कमजोरी देखिए दोषीमाथि कारबाही हुने बचन चरीका आफन्तलाई दिएका छन् ।
सुवेदीका अनुसार गौतमले चरीको अन्त्येष्टि गर्न आग्रह गरेका थिए ।

सुनियोजित हत्या भएको भन्दै परिवारले चरीको शव बुझ्न मानेका छैनन् । घटनाको १० दिनपछि शनिबार पोष्टमार्टम भए पनि चरीको शव अझै शिक्षण अस्पतालमा छ ।
चरीको मृत्युबारे व्यवस्थापिका–संसदलाई जानकारी गराउने क्रममा गौतमले पक्राउ गर्ने क्रममा प्रहरीमाथि गोली चलाएकाले चरी दोहोरो भिडन्तमा मारिएको बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us