काँग्रेसको बीपी पदयात्रा सुरु

काठमाण्डु टुडे २०७१ भदौ १ गते ३:४५ मा प्रकाशित

विराटनगर १ भदौ– संस्थापक नेता बीपी कोइरालाको जन्मसताब्दीको अवसर पारेर नेपाली कांग्रेसले आइतबारदेखि पदयात्रा सुरु गरेको छ ।

NC-Flag
गत साउन ६ गते सुरु भएको विचारयात्राअन्तर्गत आजदेखि पदयात्रा सुरु भएको हो । पद यात्राको पहिलो दिन विराटनगरमा वृक्षारोपण गरिएको छ ।

२००३ सालको विराटनगरको जुटमिल मजदुर आन्दोलनमा पक्राउ गरी बीपीसहित गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, तारिणीप्रसाद कोइराला, गेहेन्द्रहरि शर्मा लगायतलाई मोरङ, सुनसरी, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुङगा, रामेछाप, सिन्धुली, काभ्रे, भक्तपुर हुँदै काठमाण्डु ल्याइएको मार्गमा पदयात्रा गर्न लागिएको हो ।

यात्राको क्रममा विभिन्न ठाउँमा विशेष कार्यक्रम हुने र हरेक जिल्लामा फरकफरक नेताको सहभागिता रहने कांग्रेसले जनाएको छ । धनकुटा देखि काठमाण्डुसम्म बीपीलाई बास राखिएको, खाना–खाजा खुवाइएको तथा अन्य ऐतिहासिक महत्व वोकेका स्थानमा विचार यात्रा सञ्चालन गरिनेछ ।

भाद्र २३ गते काठमाण्डुको विशालनगरमा विशेष विचारसभा गर्ने तथा बीपीलाई लामो समयसम्म बन्दी बनाएर राखिएको सुन्दरीजलस्थित संग्रहालयमा भदौ २४ गते अभियानको समापन गर्ने काँग्रेसले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us