काठमाण्डु, १ भदौ– प्रहरी इन्काउन्टरमा मारिएका डन दिनेश अधिकारी ‘चरी’ को शरीरमा सात गोली लागेको पाइएको छ ।
घटनाको १० दिनपछि त्रिवि शिक्षण अस्पतालमा शनिबार पोस्टमार्टम गरिदाँ चरीको शरीरमा सात गोली लागेको पाइएको हो ।

पोस्टमार्टमको रिर्पोटअनुसार छाती र पेटको बीच भागमा लागेका सातमध्ये ६ गोली ढाड छेडेर बाहिर निस्केका थिए भने एक गोली शरीरभित्रै अड्किएको थियो । अस्पतालका फरेन्सिक विभाग प्रमुख डाक्टर हरिहर वस्तीका अनुसार गोलीले नै उनको मृत्यु भएको पोस्टमार्टममा देखिएको छ ।
पक्राउ गरेर हत्या गरिएकोजस्तो कुनै प्रमाण नभेटिएको उनले बताए । गोलीले चरीको छाती तथा पेटमा रहेका मुटु, फोक्सो, कलेजोजस्ता सबै महत्वपूर्ण अंग क्षतविक्षत गराएको डाक्टर वस्तीले बताए । उनले विस्तृत रिपोर्ट आउन केही दिन लाग्ने बताए ।
पोस्टमार्टम भए पनि आफन्तले ररीको शव बुझेका छैनन् । चरी इन्काउन्टरमा मारिएको नभई प्रहरीले हत्या गरेको दाबी गर्दै चरीका आफन्त र केही एमाले नेता–कार्यकर्ताले पोष्टमार्टम गर्न अस्वीकार गर्दै आएका थिए ।
छानबिन भएपछि मात्र शब बुझ्ने चरीका दाई धु्रुव अधिकारीले बताए । पोष्टमार्टमा रिपोर्टमा हत्या भएको पुष्टि नभेटिएपछि मृतकका आफन्तले शव नबुझेको स्रोतको दाबी छ ।