काठमाण्डु, ३१ साउन– राप्रपा नेपालले संगठित र योजनाबद्ध रुपमा धर्म परिवर्तन गराउने काम भइरहेको भन्दै तत्काल त्यस्तो कार्य नरोकिए
प्रतिकारमा उत्रने चेतावनी दिएको छ ।
राप्रपा नेपालको तीन दिनसम्म राजधानीमा बसेको केन्द्रीय समिति बैठकले डर त्रास, लोभ र प्रलोभन देखाएर धर्म परिवर्तन गराइएको भन्दै यस्तो चेतावनी दिएको हो ।
बैठकले धर्म परिवर्तनमा कडाई गर्न पनि सरकारसँग माग गरेको छ । ‘संगठित र योजनाबद्ध ढंगबाट डर त्रास, लोभ र प्रलोभन देखाएर धर्म परिवर्तन गराउने कार्य निन्दनीय छ ।
यस्ता कार्यमा रोक लगाउन यो बैठक सरकारसँग जोडदार माग गर्दछ’, बैठकपछि प्रवक्ता विष्णु भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘साथै यस्ता कार्यमा रोक नलगाइए सनातन हिन्दू धर्मको रक्षार्थ प्रतिकार गरिने समेत बैठकले निर्णय गरेको छ ।’ सहप्रवक्ता मोहन श्रेष्ठले प्रतिकारको कार्यक्रम भने कार्यसम्पादन समितिको बैठकले तय गर्ने बताए ।
राप्रपा नेपालले संविधान लेखनमा ठोस र उत्साहजनक प्रगति हुन नसकेकाले मंसिर ४ गतेभित्र संविधान जारी हुनेमा आशंका गरेको छ । संविधानसभाबाहिर रहेका राजनीतिक शक्तिलाई समेत विश्वासमा लिएर संविधान निर्माणमा लाग्नुपर्नेमा संधिवानसभाभित्रै रहेको आफ्नो पार्टीलाई निषेधको व्यवहार गरिएको भन्दै राप्रपा नेपालले खेद व्यक्त गरेको छ ।
यस्तै बैठकले पार्टीका भातृसंगठनहरु युवा, विद्यार्थी, महिला र राष्टिय युवा मोर्चा विघटन गरेको छ । ती संगठनको माघभित्र महाधिवेशन गरिसक्ने निर्णय भएको श्रेष्ठले जानकारी दिए ।