बाबुरामको नयाँ शक्तिभन्दा पहिल्यै जन्मियो एमाओवादीमा ‘चौथो शक्ति’ !

काठमाण्डु टुडे २०७१ साउन ३१ गते १३:३८ मा प्रकाशित

काठमाण्डु, ३१ साउन– पार्टी विवाद उत्कर्षमा पुगेका बेला एकीकृत माओवादीमा चौथो धारको जन्म भएको छ ।
maoist flagनेता बाबुराम भट्टराईले नयाँ शक्ति निर्माणका लागि जिल्लाजिल्लामा समानान्तर कमिटी गठन गरिरहेका बेला पार्टीभित्रकै असन्तुष्ट तेश्रो पुस्ताका नेताहरुले चौथो धार निर्माण गरेका हुन् ।

एमाओवादीमा हाल संस्थापन, नेता बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठको समूह अस्तित्वमा छ ।
नयाँ समूहमा अधिकांश विगतमा संस्थापन पक्षमा रहेका नेता छन् । उक्त समूहको नेतृत्व पोलिट्ब्युरो सदस्य त्यागेका नेता लेखराज भट्टले गरेका छन् । चौथो धारमा भट्टसहित नेताहरु लीलामणि पोखरेल, अमिक शेरचन, हेमन्तप्रकाश वली, पुष्पविक्रम मल्ल, विकेश श्रेष्ठ, महेन्द्र पासवान, दिलीप साह, उमेश यादव, मुक्साहाम मेन्याङबो ‘मुकेश’, सुरेशकुमार राईलगायत छन् ।
सो समूहमा रहेका पोलिट्ब्युरो सदस्य हेमन्तप्रकाश वलीले पार्टीको मुल नेतृत्वलाई दक्षिणपन्थी र छद्म दक्षिणपन्थीहरुको चंगुलबाट मुक्त गर्न आफूहरुले अर्को धार निर्माण गरेको काठमाण्डु टुडेलाई बताए ।

‘पार्टी नेतृत्व  विगतदेखि सबैले चिन्दै आएको दक्षिणपन्थी र नेतृत्वको वरिपरि बसेर आफ्नो हालीमुहाली चलाउनेहरुको चंगुलमा फसेको छ’, वलीले भने, ‘हामीले नेतृत्वलाई त्यो जंजालबाट बाहिर ल्याउने सकारात्मक उद्देश्यका साथ यो अभियान सुरु गरेका हौं ।’
उनले अध्यक्ष प्रचण्डलाई नेता बाबुराम भट्टराई पक्ष र संस्थापनमै रहेका लोभीपापी नेताहरुले घेराबन्दी गरेर क्रान्तिकारी नेता कार्यकर्ताबाट कटाउन खोजेको आरोप लगाए । तर उनले ती को हुन् भन्ने खुलाएनन् । वलीले नेतृत्वको वरिपर रहेको भनिएकाहरुलाई लिन प्याओवादी प्रवृत्तिको संज्ञा दिएका छन् । कसैको नाम नलिई उनले ती व्यक्तिहरु बाह्य शक्तिको इशारामा चलेको आरोप लगाए ।

‘अगाडि तपाईं त अध्यक्ष मात्र होइन, राष्ट्राध्यक्ष भनेर उछाल्नेहरुले नै चीनमा माओलाई हत्या गर्ने उद्देश्यले उहाँ चढेको रेलको सिटमुनि बम राखेका थिए’, उनले भने, ‘यहाँ पनि नेतृत्वको वरिपरि बसेर मुखमा रामराम बगलीमा छुरा शैलीमा नेतृत्व हत्याउन खोज्ने हर्कत देखियो, यो हाम्रा लागि किमार्थ स्वीकार्य छैन ।’
वलीले पार्टीलाई सही ट्रयाकमा ल्याएर बीचैमा रोकिएको नेपाली क्रान्तिको कार्यभार सम्पन्न गर्नु आफूहरुले मुख्य उद्देश्य रहेको बताए । आफूहरुले थालेको अभियानबारे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई जानकारी गराइसकेको वलीले उल्लेख गरे । उनले आफूहरुले पार्टीमा स्थायी क्याम्प भने खडा नगर्ने दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us