बाढीपहिरोले बाँके र सुर्खेतमा ९ को मृत्यु

काठमाण्डु टुडे २०७१ साउन ३१ गते ४:२३ मा प्रकाशित

काठमाण्डु, १८ साउन– अबिरल वर्षासँगै गएको बाढीपहिरोले सल्यान, बर्दिया र सुर्खेतमा थप ९ जनाको ज्यान गएको छ ।
२७ जना हराइरहेका छन् । बाढीपहिरोमा हराइरहेका उनीहरुको शव आज बिहान भेटिएको हो । बर्दियामा पाँच तथा सुर्खेत र सल्यानमा थप दुईदुई जनाको शव भेटिएको हो ।

बर्दियामा बबई र कर्णाली नदीमा आएको बाढीले बगाएका ५ जनाको शब आज बिहान भेटिएको छ । बानियाभारमा चारजना तथा चेपाग्ङमा एक जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । उनीहरुको सनाखत हुन सकेको छैन ।

नदीमा पानीको सतह घट्दै गए पनि बगनाह, नेउलापुर र लुगरियामा एक सय भन्दा बढी उद्धारको पर्खाइमा छन् । उता सुर्खेतको लाटीकोइलीमा थप दुईजनाको शव भेटिएको छ । योसँगै त्यहाँ बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ । जिल्लाको तातोपानी, सहारे उत्तरकोइला र लाटकोइली गाविस बाढीपहिरोबाट प्रभावित भएका छन् ।
यस्तै सल्यानको निगालचुलामा खोलामा आएको बाढीले बगाउँदा २५ वर्षीय विष्णु विक र उनका डेढ वर्षका छोरा प्रेमको मृत्यु भएको छ । बाढीले बगाएर ९ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक अरुण साहले जानकारी दिए ।
बाँकेमा ५ हजार ३ सय ९७ घर डुबानमा परेको जिल्ला विपत व्यवस्थापन समितिले जनाएको छ ।
आजदेखि वर्षा रोकिने
यसैबीच जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले नेपालमा अहिले मनसुन सक्रिय भएकाले अधिकांश जिल्लामा अझै केही दिन पानी पर्ने सम्भावना रहेको बताएको छ ।

तर भारी वर्षा भने आजबाट रोकिने बिभागको अनुमान छ । आज विशेष गरी पश्चिम नेपालमा पानी पर्ने छ । राजधानी काठमाण्डु र आसपासका क्षेत्रमा भने गएरातिदेखि नै पानी पर्ने क्रम रोकिएको छ । बुधबार देखिको वर्षाले हालसम्म देशभर मृत्यु हुनेको संख्या ६१ पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us