काठमाण्डु, ३0 साउन– प्राविधिक तथा व्यवसायिक शिक्षा तालिक परिषद् (सिटिइभीटी) बाट स्टाफ नर्स अध्ययनका लागि छात्रवृत्ति मिलाई दिने भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाण्डुको पुतली सडकमा रहेको ‘निष्ट एचीभर्स एजुकेशनल कसल्टेन्सीका प्रबन्ध निर्देशक प्रदीप भुसाललाई पीडितको उजुरीका आधारमा शुक्रबार महानगरी प्रहरी परिसर हनुमानढोकाले पक्राउ गरेको हो ।
भुसालले आफ्नो कन्सल्टेन्सीमा अध्ययनका लागि आउने छात्राहरुलाई छात्रवृत्ति मिलाई दिने भन्दै जनही दुई लाख रुपैयाँका दरले ठगी गर्दै आएको पुष्टि भएको प्रहरीले जनाएको छ ।
छात्रवृत्तिमा नाम निकालेकी रुकुम खहरेकी प्रतिभा विष्टले भुसालले आफूसँग पैसा मागेपछि प्रहरीमा उजुरी दिएकी थिइन् । पैसा नदिए छात्रवृत्ति खारेज गरिदिने भन्दै भुसालले आफूलाई धम्क्याएको विष्टले बताइन् ।