काठमाण्डु, ३० साउन – प्रहरी कारबाहीमा मारिएका गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’का आफन्तले उनको सुनियोजित हत्या भएको दाबी गर्दै सर्वोच्च अदालतमा अभियोगपत्र दर्ता गरेको छ ।
प्रहरीले किटानी जाहेरी दर्ता गर्न नमानेपछि उनका दाजु ध्रुव अधिकारीले शुक्रबार सर्वोच्चमा मुद्धा दायर गरेका हुन् ।
घटनामा संलग्नमाथि काराबाही र महानगरीय प्रहरी परिसर काठमाण्डुलाई किटानी जाहेरी लिन परमादेश माग गरेर रिट दायर गरिएको अधिकारीले बताए ।
चरीका परिवारले बुधबार महानगरीय प्रहरी परिसर, जिल्ला प्रशासन कार्यालय काठमाण्डुमा जाहेरी दिन खोजेका थिए । तर जाहेरी लिन अस्वीकार गरियो । प्रहरीले जाहेरी लिन नमाने परमादेशको माग गर्दै सर्वोच्च वा पुनरावेदन अदालतमा रिट दिने संवैधानिक व्यवस्था छ ।
रिटमा नेपाल प्रहरीको अपराध महाशाखा प्रमुख एसएसपी पुष्कर कार्की, महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रमुख एसएसपी उत्तम कार्की, अपराध महाशाखाकै नायब उपरीक्षक मीरा चौधरी, निरीक्षक कुमुद ढुंगेल र चरीका प्रेमिका खुश्बुमा पूर्वप्रेमी भनिएका अर्पण कोइरालालाई विपक्षी बनाइएको छ । रिटको पहिलो पेशी आगामी सोमबारका लागि तोकिएको छ ।
प्रहरीको फरार सूचीमा रहेका चरीको गत बुधबार काठमाण्डु र धादिङको सीमानामा पर्ने भीमढुंगामा प्रहरीसँगको मुठभेडमा ज्यान गएको थियो ।