सुर्खेत, ३० साउन – अविरल वर्षापछिको बाढीले सुर्खेतमा ११को मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयको रेकर्डमा १८ जना बेपत्ता भएका छन् । तर, चिसापानीका स्थानीयवासीले आफ्नो गाविसमामात्रै २४ जना बेपत्ता भएको जानकारी गराएका छन् ।
प्रहरीका अनुसार उत्तरगंगामा २ जना, लाटीकोइलीमा ५ जना, बाबियाचौरमा ३ जना र साहरे १ जनाको शव भेटिएको छ ।
तातोपानी वडा नम्बर ६ मा १७ जना र वडा नम्बर ७ मा ७ जना बेपत्ता भएको स्थानीयको भनाइ छ ।
तातोपानी घाटगाउँ जोड्ने भेरी नदीको पुल, तातोपानी र बाबियाचौर जोड्ने जामुकुइने भन्ने ठाउँमा भेरी नदीको पुल बगाएको छ । हरिहरपुरमा पुल बगाउँदा स्थानीयवासी आपतमा परेका छन् ।
गोरखा – गोरखाको फिनाम गाविसमा रहेको प्राथमिक विद्यालयलाई पहिरोले बगाउँदा ३ को मृत्यु भएको छ । ११ घाइते भएका छन् ।