काठमाण्डु, ३० साउन– पूर्वप्रधानसेनापति रुक्माङ्गद कटवालले आफू सानैदेखि उट्पटयाङ र अरुलाई दु:ख दिँदा रमाउने स्वभावको व्यक्ति भएको
बताएका छन् ।
बिहीबार सार्वजनिक भएको आफ्नो पुस्तक ‘रुक्माङगद् कटवालको आत्मकथा’ मा उनले आफ्ना उटपटयाङ गतिविधिको फेहरिस्त नै प्रस्तुत गरेका छन् । कटवालले आफ्नो उपद्रो र हठी स्वाभावका कारण स्कुलमा कैयौंपटक सजायँ भोजेको उल्लेख गरेका छन् ।
उनले जजमानी गरेर आएका बाहुनको सीधा खोसेर खानेदेखि अर्काको गोठमा बाँधेको गाईको दूध चोरेर खाने गरेको उल्लेख गरेका छन् । ‘सानैदेखि म उटिङ्या स्वभावको थिएँ । छुट्टीमा घर जाँदा गरेका बिठ्याइँको सूची लामै छ । जजमानी गरेर आएका बाहुनको सीधा धेरैपटक खोसियो । सीधा खोसेर फलफूल, सेलरोटी अचार खाइयो । विचरा बाहुनको धान, चामल खोलामा बगाइयो ।
अर्काको गोठमा बाँधेको गाईको दूध चोरियो । त्यसैको खीर पकाएर खाइयो’, उनले भनेका छन् । यस्तै आहालमा रमाइरहेको भैंसीको थुनमै मुख लगाएर खाने गरेको पनि उनले बताएका छन् । आहालमा रमाइरहेको भैंसी पघारी दूध दुहेर खान भ्याइदिन्थें । पघ्रेको थून सीधै मुखमा निचोरेर पनि खाइयो । कर्कलोको पात टपरीजस्तो बनायो, त्यसमा दूध दोयो, मस्तसँग खायो ।’
उनले आफूलाई उपद्रोका अनेक आइडिया फुर्ने गरेको पनि उल्लेख गरेका छन् । ‘मलाई उपद्रोका अनेक आइडिया फुथ्र्यो । गाउँमा ७र८ बजे सबै सुतिसक्छन् । चकमन्न भइसकेपछि कसैकोमा गयो ।
जाँतोको ढक्कन उचाल्यो । गोठबाट गोबर ल्यायो । जाँतोभरि लिप्यो । ढकनीले ढाकिदियो । भोलिपल्ट दाल, मकै, गहुँ वा केही पिँध्न घान हालेर घुमाएपछि गोबर पिचिची निक्लिन्थ्यो ।‘
घरको मूलढोका बाहिरपट्टी पानीमा चोबेलेको सिस्नु मूठा झुण्ड्याइदियो ।‘ बिहान घर लिपपोत गर्नुपर्ने भएकाले बढीजसो छोरी बुहारीले सिस्नु भेट्थें ।’