ललितपुर, २९ साउन – उज्यालो ९० नेटवर्कका सञ्चारकर्मीले उठाएका माग सम्बोधन गर्न कम्युनिकेशन कर्नर व्यवस्थापन सहमत भएको छ ।
दुईपक्षबीच विभिन्न चरणमा भएका छलफलपछि बिहीवार भएको सहमति अनुसार उज्यालो ९० नेटवर्क तथा उज्यालो अनलाइनमा कार्यरत पत्रकार तथा प्राविधिकले व्यवस्थापनले ल्याएको अवकाश योजना अनुसार अवकाश पाउने छन्।
अवकाश योजना अनुसार पाँच वर्ष वा यो भन्दा बढी काम गरेका कर्मचारीले खाइपाइ आएको तलब अनुसार २० महिनाको तलब पाउने भएका छन्। यस्तै ४ वर्षदेखि पाँच वर्ष काम गरेकाले १५ महिना, तीनदेखि चार वर्ष काम गरेकाले साढे ७ महिना र दुईदेखि तीनवर्ष काम गरेकाले ४ महिनाको तलब सुविधा पाउनेछन्। यस्तै अवकाश चाहने कर्मचारीले दसैं पेश्कीसमेत पाउने छन्।
नेपाल पत्रकार महासंघ कम्युनिकेसन कर्नर प्रतिष्ठान शाखा र व्यवस्थापनबीच पत्रकारका माग तत्काल पूरा गर्ने सहमति भएको पत्रकार महासंघ, कम्युनिकेसन शाखाका अध्यक्ष श्रीधर पौडेलले जानकारी दिए।
तलबसुबिधा वृद्धिको मागसहित महासंघ प्रतिष्ठान शाखाले व्यवस्थापनसमक्ष गएको असार ८ गते तीन बुँदे मागपत्र पेस गरेको थियो।
पत्रकार र व्यवस्थापनबीच भएको सहमति अनुसार उज्यालोमा अब जम्मा १३ जना पत्रकार रहनेछन्। ती मध्ये ९ जना रेडियोमा र चारजना अनलाइनका लागि नियुक्त हुनेछन् ।
वार्तामा व्यवस्थापनका तर्फबाट कार्यकारी अध्यक्ष गोपाल गुरागाईँ, निर्देशक मन्टेश्वरी राजभण्डारी, अपरेसनल म्यानेजर कृष्ण गुरागाईँ सहभागी थिए। सम्पादक सुनिल न्यौपाने पनि वार्तामा सहभागी थिए। आन्दोलनरत पत्रकारका तर्फबाट पत्रकार महासंघ शाखा अध्यक्ष श्रीधर पौडेल, सचिव सविन मिश्र, महासंघ केन्द्रीय सदस्य समेत रहेका दीपेन्द्र कुवँर, माधव दुलाल र रोसन पुरी सहभागी थिए।
उज्यालोमा रहने वा स्वेच्छिक अवकाशमा जाने जानकारी गराउन व्यवस्थापनले शुक्रबार पाँच बजेसम्मको म्याद दिएको छ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका उज्यालोका पत्रकार दीपेन्द्र कुवँरले पत्रकारलाई जहिले चाह्योय निकाल्न सक्छु भन्ने प्रवृत्ति विरुद्धको लडाइँमा आफूहरु सफल भएको प्रतिकृया दिए। ‘मिडिया कसैले हाम्रा लागि खोलिदिएको हैन। हामी योग्य भएकोले यहाँ आएका हौँ‘, कुवँरले भने, ‘सामाजिक सुरक्षाका लागि पत्रकारले लडाइँ नगरी नहुने रहेछ भन्ने प्रष्ट भयो।‘
अन्य मिडियाका पत्रकारलाई पनि आफ्नो हकअधिकारका लागि लड्न उनले आग्रह गरे। ‘काम गरेपछि केही लिएर हिँड्ने वातावरण बनाउनु पर्छ। अरु मिडियाका सञ्चालकले पनि यसबाट सिक्नुपर्छ’, उनले भने, ‘पत्रकारले मेरो श्रमशोषण भैरहेको छ भन्ने अनुभूति गर्नुपर्योञ।‘
महासंघ शाखा अध्यक्ष श्रीधर पौडेलले निस्कन चाहने पत्रकार, त्यहीँ बसेर काम गर्न चाहने पत्रकार र व्यवस्थापन ‘विनविन पोजिसन’ पुगेको बताए। ‘सबैको जित भएको छ। नेपाली मिडिया क्षेत्रमा राम्रो नजिर हो’, उनले भने, ‘अन्य मिडियाले पनि यसबाट सिक्नुपर्छ।‘