काठमाण्डु, २९ साउन – केही दिनदेखि सुरु भएको वर्षात शनिबारसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
मनसुन सक्रिय भएको दुई महिना हुन लाग्दा दुई दिनअघिबाट देशैभरी भइरहेको अविरल वर्षातका कारण तराईमा डुबान शुरु भएको छ भने पहाडमा बाढी पहिरोको प्रकोप बढ्न थालेको छ ।
अहिले देशैभरी अविरल वर्षात भइरहेको छ, न्यून चापीय क्षेत्रको रेखा नेपालको मेचीदेखि महाकालीसम्मै परेकाले यो प्रक्रिया शनिबार बेलुका सम्म निरन्तर चल्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए ।
मनसुन शुरु भएपनि कमजोर सक्रियताका कारण कृषकले धान रोपाइँ गर्न पाएका थिएनन् । आकाशे पानीमा भर परेका कृषकहरुले धानको वीउ मरेपछि धेरै स्थानमा रोपाइँ गरेकै छैनन् ।
‘अहिलेको वर्षाले ढिलो धान रोप्ने कृषकलाई राहत भएको छ, छिटो धान रोप्नेलाई भने फाइदा गर्दैन’मौसमविद पौडेलले भने, ‘लगातारको वर्षातका कारण बाढी पहिरोजस्ता प्राकृतिक विपत्ति पनि आउन सक्छ ।’