काठमाण्डु, २९ साउन– संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले पश्चिम अफ्रिकी मुलुकहरुमा फैलिएको इबोला भाइरस नेपालमा पनि आउन
सक्ने भन्दै सतर्कता अपनाउन सरकारलाई निर्देशन दिएका छन् ।
व्यवस्थापिका–संसदको बिहीबारको बैठकमा सभासदहरुले इबोला संक्रमण रोकथामका लागि सरकारले पूर्वसतर्कता नअपनाएको भन्दै चर्को विरोध गरेपछि नेम्वाङले त्यस्तो आदेश दिएका हुन् ।
उनले इबोला पश्चिम अफ्रिकी मुलुकबाट अन्य मुलुकमा समेत फैलिइरहेकाले नेपालमा उक्त संक्रमण फैलन नदिन सरकारका तर्फबाट भइरहेका प्रयासबारे अबिलम्ब सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् ।
‘इबोला पश्चिम अफ्रिकी मुलुक हुँदै अन्यत्र पनि फैलिएको छ’, नेम्वाङले भने, ‘हाम्रोमा पनि आउने खतरा र छ, इबोला आउन नदिन सरकारका तर्फबाट के कति प्रयास भइरहेको छ, अबिलम्ब संसदलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’