चरीकी प्रेमिका भन्छिन्, ‘मुर्छा परेर रुँदैमा ऊ फिर्ता आउँछ र ?

काठमाण्डु टुडे २०७१ साउन २९ गते १५:५५ मा प्रकाशित

काठमाण्डु, २९ साउन–केही दिनको फरकमा दुईवटा मृत्युका घटना भए । गुण्डा नाइके भनिएका दिनेश अधिकारी ‘चरी’ गत बुधबार प्रहरी khushbuकारबाहीमा मारिए । नेपाली सिने जगतका लोकप्रिय नायक श्रीकृष्ण श्रेष्ठको शनिबार उपचारका क्रममा भारतको नयाँदिल्लीमा निधन भयो । श्रेष्ठको निधनपछि एक महिनाअघि मात्र विवाह बन्धनमा बाँधिएकी नायिका श्वेता खड्काको अझै होस् आएको छैन । तर दुई परिवारको सहमतिमा विवाहको कुरा छिनिसकेको भनिएकी चरीकी प्रेमिका खुश्बु ओली सञ्चार माध्यम र पत्रकार सम्मेलनमा गएर बोलिरहेकी छन् । अहिले यी दुई घटनालाई तुलना गरेर हेर्न थालिएको छ ।
त्यसबारे के भन्छिन् खुश्बु उनकै शब्दमा
श्रीकृष्ण श्रेष्ठ मलाई पनि मन पर्ने नायक हो । उहाँको निधनले धेरैलाई दु:खी तुल्याएको छ । मलाई पनि दु:ख छ । उहाँकी श्रीमति अचेत हुनुहुन्छ भन्ने सुनेको छु । मेरो भगवानसँग कामना छ, उहाँको छिट्टै होस् आओस् । उहाँका बारेमा मलाई यत्ति मात्र भन्नु छ । बाँकी रह्यो मेरो आलोचनाको कुरा । श्रीकृष्ण श्रेष्ठ र दिनेश अधिकारीको निधन समान कारणले भएको होइन । फरकफरक कारणले घटना भएको हो । उहाँको उपचारका क्रममा निधन भएको हो । तर दिनेशलाई त पक्राउ गरेर गोली हानेर मारिएको छ । यी दुई घटनालाई जोड्न नै जरुरी छैन ।

दिनेश मेरो प्रेमी मात्र होइन, हुनेवाला श्रीमान हो । यस अर्थमा म उसको सबैभन्दा नजिकको मान्छे हो । म नबोले उसको बारेमा कसले बोल्ने ? के उसको मृत्यु कालगतिले भएको हो र ? म घरमा मुर्छा परेर रोएर बसे पनि ऊ फिर्ता आउने कुराको ग्यारेण्टी कसैले गर्न सक्छ ? मैले उसलाई न्याय दिनुछ । त्यसैले मैले घटनाबारे बोल्नैपर्छ । प्रहरीले बर्दी लगाएर गरेको गुण्डागर्दीको विरोध गरेर दिनेशमाथि न्याय हुन्छ कि मुर्छा परेर ? मलाई लाग्छ कि उसमाथि जतिबेला न्याय हुन्छ, त्यतिबेला उसका हत्याराहरुलाई हत्कडी लगाइन्छ । त्यसैले म अहिले मानवअधिकार आयोगदेखि, प्रहरी र अदालतसम्म धाइरहेकी छु । म घरमा रोएर बसें भने यो काम कसले गर्छ ।

दिनेशको निधनले भएको पीडा मलाई मात्र थाहा छ । त्यो देखाउने कि नदेखाउने, कसरी देखाउने त्यो फरक कुरा हो । रोएर बस्दैमा पीडामा भएको हुने, उसको न्यायको लागि दिनरात हिंड्दा चाहिं शोक मानेको जस्तो नहुने यो कस्तो परिभाषा हो । कालगतिले मरेको भए म पनि केही दिन रुन्थें र चुप लाग्थें होला । तर एउटा मान्छेलाई राजधानीको मुटुबाट समातेर जंगलमा लगेर हत्या गरिएको छ । यस्तो अवस्थमा उमाथि अन्याय भयो, न्याय चाहियो भन्दा ममाथि विभिन्न आरोप लगाउने काम भएको छ ।

यी सबै कुराको मलाई कुनै पर्वाह छैन । मेरो एक मात्र उद्देश्य दिनेशका हत्याराहरुलाई कानुनी कठघरामा उभ्याउनु हो । जब घटनाको  छानबिन हुन्छ । सत्यतथ्य बाहिर आउँछ । त्यसपछि सबैलाई थाहा हुन्छ कि खुश्बुले भनेको ठीक रहेछ भन्ने । जुन बोटमा आँप फल्छ, त्यही बोटमा ढुंगा हान्ने हो । आँप नफलेको बोटमा त कसैले ढुंगा हान्दैन नि ? त्यसैले मलाई जसले जे भने पनि केही फरक पर्दैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us