कुकुरलाई जेल चलान ?

काठमाण्डु टुडे २०७१ साउन २९ गते १:५२ मा प्रकाशित

सिरहा, २९ साउन –सिरहाको दक्षिणी गाविस हन्हैठा र गाढामा कुकुर र भैंसीको विषयमा भएको विवाद प्रहरीसम्म पुगेको छ ।

dog
सन्हैठा–३ का रामदेव यादवको घरमा भएको भोटे कुकुर छिमेकी गाउँ इँटाटार –८ का गोवी यादवलाई मन परेछ । तर रामदेवसँग सीधै कुकुर माग्न उनलाई आँट आएन । जसरी पनि कुकुर लिन लागिपरेका उनले चलाखी गरे  । र ‘मैले पहाडबाट किनेर ल्याएको कुकुर मलाई दिलाई आवश्यक शान्ति–सुरक्षा परी पाऊँ’भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराए ।

२०७० चैत ५ गते दर्ता गराएको सक्कल निवेदनसहित प्रशासनले आवश्यक कारबाहीका लागि सन्हैठा प्रहरी चौकीलाई पत्राचार गर्‍यो ।
सन्हैठा प्रहरीले दुवै पक्षलाई झिकाएर छलफल गरायो ।

तर दुवै पक्षले कुकुरमाथि दाबी छाडेनन् । प्रहरीमा सल्टिन नसकेपछि मुद्दा जिल्ला प्रशासनमै फर्कियो । प्रशासनमा भएको छलफलले पनि कुकुरको मुद्दा छिनोफानो गर्न सकेन ।
मुद्दा छिनोफानो नहुञ्जेल कुकुर सुरक्षित राखिदिन प्रशासनले जिल्ला प्रहरीलाई जिम्मा दियो । प्रहरीले कुकुरलाई कारागार पठायो । कुकुरमाथि अरुले अनावश्यक दाबी गर्दै मुद्दा हाल्दा रामदेवसहित प्रहरी प्रशासनलाई दुई महिनासम्म तनाव भयो ।

प्रशासनबाट मुद्दा छिनोफानो हुन समय लाग्ने भएपछि रामदेवले पुनरावेदन अदालत राजविराजको ढोका ढकढकाए । प्रहरी प्रशासनलाई समेत विपक्षी बनाएर दिएको निषेधाज्ञाको रिटमा फैसला सुनाउँदै अदालतले रामदेवलाई कुकुर फिर्ता गर्न आदेश दियो ।

अदालतको आदेश र जिल्ला प्रशासनको पत्रपछि प्रहरीले कुकुरालई कारागारमुक्त गर्‍यो ।
नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us