उदयपुर, २८ साउन– सिन्धुपाल्चोक पहिरो पीडितहरुका लागि उदयपुरबाट १ लाख ५२ हजार ३ सय ६३ रुपैयाँ राहत संकलन भएको छ ।
उदयपुर जेसिसको संयोजनमा विभिन्न संघसंस्था, विद्यालय र क्लबहरुले उक्त रकम संकलन गरेको हो । संकलित रकम बुधबार गाईघाटमा आयोजित एक कार्यक्रमबीच जेसिसले प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियालाई हस्तान्तरण गरेको छ ।
जेसिसले राहत संकलन टोली बनाई जिल्लाको विभिन्न ठाउँमा पुगेर राहत संकलन गरेको थियो । व्यापारी, शिक्षक, बुद्धिजिवी, किसान र बटुवा समेतबाट स्वैच्छिक राहत संकलन गरिएको जेसिसले जनाएको छ ।
सबैभन्दा बढी रकम त्रियुगा लिटिल फ्लावर बोर्डिङले ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेको छ । सशस्त्र प्रहरी त्रियुगा गुल्मबाट ८ हजार तथा एलसेभेन ग्रुप गाईघाटबाट ६ हजार ७९ रुपैयाँ सहयोग प्राप्त भएको छ ।