भारतमा बेच्न लाँदै गरिएकी युवतीको उद्धार

काठमाण्डु टुडे २०७१ साउन २८ गते ११:४६ मा प्रकाशित

भैरहवा, २८ साउन– प्रहरीले रुपन्देहीस्थित नेपाल–भारत सीमा नाका बेलहियाबाट भारतमा बेच्न लाँदै गरिएकी एक युवतीको उद्धार गरेको छ ।
रुपन्देही प्रहरीको एक टोलीले युवतीसहित दुई दलाललाई बुधबार नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा नुवाकोट शिखरवेशी(६ का १९ वर्षीय कृष्ण तामाङ र रालुकादेवी–३ का २६ वर्षीय सञ्चा तामाङ छन् ।

साना हातहरु नामक संस्थाका कर्मचारीको सहयोगमा इलाका प्रहरी कार्यालय बेलहियाको टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार दलालहरुले युवतीलाई काठमाण्डुबाट हेटौंडा जाने भन्दै झुक्याएर बेच्न लगेको बयानबाट खुलेको छ । पक्राउ परेका तामाङद्वयमाथि मानव बेचबिखन तथा ओसारपसार अभियोगमा मुद्दा दर्ता गरिने क्षेत्रीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us