पोष्टमार्टमका लागि शव जापान वा अमेरिका लैजान चाहन्छ चरीको परिवार

काठमाण्डु टुडे २०७१ साउन २८ गते १४:१५ मा प्रकाशित

काठमाण्डु, २८ साउन– प्रहरी कारबाहीमा मारिएका गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ का परिवारले उनको शव पोष्टमार्टमका लागि विदेश लान chariपाउनुपर्ने दाबी गरेको छ ।
राज्य संयन्त्रको मिलेमतोमा हत्या भएकाले पोष्टमार्टमबाट विश्वसनीय रिपोर्ट नआउने भन्दै परिवारले शव विदेश लान चाहेको हो । चरीका दाजु ध्रुव अधिकारीले नेपालमा पोष्टमार्टमा गर्न आफूहरु सहमत नहुने बताए ।

‘राज्य संयन्त्र लागेर हत्या गरिएकाले विश्वसनीइ रिपोर्ट आउला भन्ने हामीलाई लागेको छैन’, अधिकारीले काठमाण्डु टुडेसँग भने, ‘विदेश लगेर पोष्टमार्टम गराउन पाउनुपर्छ भन्ने माग गरेका छौं ।’

चरीको शव जापान वा अमेरिका लान चाहेको पनि बताए । चरीका दुवै दाजु जापानमा व्यवसायमा छन् । उनले पोष्टमार्टमा खर्च आफैं गर्नसमेत तयार रहेको बताए । ‘पैसा हामी आफैं खर्च गर्छौं, मुख्य कुरा भाइमाथि मरेपछि पनि अन्याय नहोस् भन्ने हाम्रो चाहना हो ।’

परिवारले बुझ्न नमानेपछि चरीको शव एक सातादेखि शिक्षण अस्पतालमा छ । चरीको गत साता काठमाण्डु र धादिङको सीमानामा पर्ने भीमढुंगामा प्रहरीको कारबाहीमा मृत्यु भएको थियो ।

प्रहरीले पहिला चरीले गोली चलाएकाले जवाफी कारबाहीमा मारिएको बताउँदै आएको छ । परिवारले भने अन्यत्रै हत्या गरेर भीमढुंगामा शव फालेको दाबी गर्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us