आज चरीलाई गोली हान्नेले भोलि बामदेवलाई हान्छ

काठमाण्डु टुडे २०७१ साउन २२ गते ९:३१ मा प्रकाशित

प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ प्रहरीको इन्काउण्टरमा मारिएको विषयमा हंगमा गर्नुभयो किन ?
पहिलो कुरा ऊ गुण्डा नाइके हो कि होइन, त्यतातिर नजाऔं । गुण्डाभन्दा पहिला ऊ मान्छे हो । यदि कोही गुण्डा नाइके नै हो भने पनि मान्छेलाई bhumiगोली हानेर मार्न पाइँदैन । नेपालमा त्यसरी मान्छे मार्न पाउने कानुन छैन ।
प्रहरीले त पहिला चरीले पहिला गोली चलाएकाले आत्म रक्षाका लागि बाध्य भएर गोली चलाएको बताएको छ नि ?
प्रहरीको दाबी जसरी सञ्चार माध्यममा आएको छ, त्यसैलाई आधार मान्ने हो भने पनि चरी अघिअघि, प्रहरीको ठूलो जत्था पछिपछि । मोटरसाइकलमा चरी मात्र थिए । उनी मोटरसाइकल चलाएर भाग्दै थिएरे, प्रहरीले पछाडिबाट लखेट्यो रे । मोटरसाइकलको पछाडि अर्को मान्छे पनि थिएन रे । कोही अर्को मान्छे पछाडि भएको भए पनि एउटाले बाइक चलायो, अर्काले गोली हान्यो भन्न सुहाउँथ्यो । मोटरसाइकल चलाएर भागेको मान्छेले पछाडि फर्किएर कसरी गोली चलाउन मिल्छ ? अनि पछाडिबाट हानेको गोली त ढाडमा लाग्नुपर्ने, छातीमा कसरी लाग्छ ? त्यत्रो लक्का जवान मान्छे गोलीले ढलेको भनिएको ठाउँमा एक थोपा रगत छैन । सातवटा गोली लागेर मान्छे ढलेको ठाउँमा त रगतको खोलो हुनुपर्ने होइन ? उसलाई अन्यत्रै मारेर त्यहाँ लगेर फालिएको हो ।  गाउँलेहरुले भनेअनुसार जतिखेर गोली चल्यो, त्यो भन्दा आधाघण्टा पहिलादेखि त्यो बाटोमा दायाँबायाँ हिंड्न दिइएको थिएन । यसबाटै थाहा भइहाल्छ नि घटना के हो भनेर ।
आफूलाई गोली चलाउनेलाई प्रहरीले के गर्नुपथ्र्यो त ?
त्यस्तो अवस्था आएकै थियो भने पनि उसलाई नियन्त्रणमा लिने उद्देश्यले कट्टीमुनिको भागमा गोली हान्नुपथ्र्यो । उसलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गर्नुपथ्र्यो । प्रहरीले कसैलाई मार्न पाउँदैन ।
तर सामाजिक सञ्जाल त प्रहरीले ठीक गर्‍यो भनेर भरिएको छ नि ?
मैले अघि पनि भनें नेपालमा जतिसुकै गल्ती गरेको भए पनि मान्छे मार्न पाउने कानुन छैन । कसैले आपराधिक काम गरेको छ भने उसलाई जेल हाल्न सकिन्छ नि ?
गुण्डा मार्दा एमालेलाई किन टाउको दुख्यो भन्नेहरु धेरै छन् नि ?
उसको विगत के थियो त्यतातिर नजाऔं । अहिले ऊ प्रहरीको मोष्ट वान्टेड सूचीमा कसरी थियो, यो कुरा प्रहरीले  भन्न सक्नुपर्‍यो नि ? उसलाई लागेको आरोपबारे अदालतमा मुद्धा विचाराधीन अवस्थामा छ । अदालतले वारेन्ट जारी गरेपछि उ हाजिर हुन्थ्यो ।
तपाईंको कुरा सुन्दा त के लाग्यो भने, बरु प्रहरीले चरीको गोली खाएर मारिनुपथ्र्यो, उनलाई केही हुन हुँदैनथ्यो हो ?
मैले उसलाई छुनै हुँदैनथ्यो यो भनेको छैन । पक्राउ गर्न सकिन्थ्यो । पक्राउ गर्नै नसक्ने गरी भाग्न खोजेको भए कट्टीमा हानेर समात्न सकन्थ्यिो । ताकीताकी छातिमा सातवटा गोली हान्नुपथ्र्यो ?

उनलाई समातेर थुन्दा तपाईंहरुले फेरि पहिलाजस्तै छोड्न दबाब दिनुहुन्छ, फेरि अपराधीले उन्मुक्ति पाउँछ भनेर पो प्रहरीले यस्तो कदम चालेको हो कि ?
हामी अहिले संविधान लेख्ने प्रक्रियामा छौं । त्यो प्रवृत्तिको मान्छेलई जंगलमा होइन, टँडिखेलमै ल्याएर छानीछानी छातीमै गोली हानेर मारौं भन्ने व्यवस्था गरौंन त । हामीले कानुनको परिपालनाको कुरा गरेका छौं । उसलाई हामीले संरक्षण गरेका होइनौं, उसलाई रुपान्तरण गर्न खोजेका हौं ।
तर, तपाईंले जति दाबी गरे पनि चरी सुध्रिएको त देखिएन । त्यसो भएको भए त व्यापारीलाई धम्क्याएर किन चन्दा माग्थे ?
उसको विगत जे थियो, हाम्रो संगतमा आएपछि त्यसको तुलनामा ऊ धेरै सुध्रिइसकेको थियो । सायद ऊ कुनै दिन असल मान्छे पनि हुन सक्थ्यो । राज्यको काम कमजोरी गर्नेलाई सच्याएर सही बाटोमा बाटोमा ल्याउने कि समातेर गोली हानेर मार्ने ?
यसबारे तपाईंहरुले गृहमन्त्रीलाई पनि ध्यानाकर्षण गराउनुभएछ, के भन्नुभयो ?
हामीले गृहमन्त्रीलाई चरीको पृष्ठभूमिसहित घटनाको सबै बेलिविस्तार लगायौं । हामीले उहाँलाई भन्यौं कि नक्कली भिडन्तका नाममा उसलाई समातेर मारियो । प्रहरीले बर्दी लगाएर आपराधिक काम गर्न पाउँदैन । हत्याका लागि आदेश दिने गोली हान्ने सबै प्रहरीविरुद्ध जाहेरी दिन्छौं । तिनीहरुका बर्दी फुकालेर अनुसन्धान गर्नुपर्‍यो भनेका छौं । मान्छेको बाँच्न पाउने अधिकार सबैभन्दा ठूलो अधिकार हो । प्रहरीले बर्दी लगाएर अपराध गर्न पाउने कि  नपाउने  ? हामीले उहाँलाई यो प्रश्न गर्‍यौं ।
गृहमन्त्रीले के भन्नुभयो त ?
उहाँले यस घटनालाई अत्यन्तै गम्भीरतापूर्वक लिएको बताउनुभयो । प्रहरी प्रमुख काठमाण्डुबाहिर रहेकाले आउने बित्तिकै सत्यतथ्य छानबिन गर्न निर्देशन दिन्छु, कोही प्रहरी दोषी देखिए कारबाही हुन्छ भन्नुभएको छ ।

सरकारमा रहेको पार्टी जसले गृह मन्त्रालयको नेतृत्व गरेको छ, सैले प्रहरीको कामकारबाहीबारे यसरी सडकमा प्रश्न उठाउँदा प्रहरी संगठनको मनोबल घट्दैन ?
बर्दी लगाएर गुण्डागर्दी गर्नका लागि प्रहरीको मनोबल बढाउन जरुरी छैन ।  दिनेश अधिकारी धादिङको भएकाले उनी मारिँदा धादिङका मानिसलाई धेरै दुख्ला । तर यो एउटा यस्तो प्रवृत्ति हो कि यसले देशभरका मानिसलाई भोलि असर गर्छ । यो प्रहरीले बर्दी लगाएर गरेको संगठित अपराध हो । आज चरी मार्नेले भोलि गृहमन्त्री बामदेव गौतमको छातीमा पनि गोली ताक्न सक्छ । जसले जतिखेर पनि प्रहरीको गोली खाएर मारिनुपर्ने अवस्था आउँछ । को सुरक्षित हुनसक्छ यहाँ ?
कतिपयले के पनि भनेका छन् भने, तपाईंहरुले प्रहरीको विरोध गरेर अरु डनहरुको मनोबल उठाउने काम गर्नुभयो ?
हामी कानुनको शासनमा विश्वास गर्छौं । कानुन बनाऔं न त्यसो भए ।  संविधानमा लेखौं न त प्रहरीले मान्छे मार्न पाउँछ भनेर । डन मात्र होइन, यही प्रवृत्तिले प्रोत्साउन पाउने हो भने कोही पनि नेपाली सुरक्षित रहन सक्दैन । समातेर जंगलमा लगेर मार्‍यो, क्रस फायरिङको नाम दियो, एउटा थोत्रो पेस्तोल देखाइदियो ।
यदि तपाईंहरुले भनेजस्तो चरीलाई गोली हान्ने प्रहरीलाई कारबाही भएन भने के गर्नुहुन्छ ?
हामी आन्दोलनमा जान्छौं, देशभर आगो बाल्छौं । आजै आगो बल्नेवाला थियो । युवाहरु सडकमा आइसकेका छन् । हामीले पार्टी सरकारमा छ । हामी वार्ता गरिरहेका छौं, पख्नुस् भनेका कारण उनीहरु पछि हटेका हुन् । अपराधीलाई कानुनी दायरामा ल्याइएन भने भयावह स्थिति ल्याइदिन्छौं । उनीहरुलाई जस्ताको तस्तै गर्नुपर्छ । चरीलाई जरी मारेका थिए, त्यसै गरी प्रहरीलाई पनि मार्नुपर्छ  यो हामी भन्दैनौं । तर बर्दी फुकालेर उनीहरुलाई हत्कडी लगाएर थुनिनुपर्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us