काठमाण्डु, २१ साउन–एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले जतिसुकै अन्तरसंघर्ष भए पनि नेता बाबुराम भट्टराईले पार्टी नफुटाउने दाबी गरेका छन् । 
अनुशासन उल्लंघन गरेको भन्दै भट्टराई पक्षका दुई नेतालाई कारबाही गरेको अर्को दिन मंगलबार आफ्नो निवासमा कान्तिपुरसँग कुरा गर्दै उनले भट्टराई अलग हुने कल्पनासमेत नगरेको बताए ।
‘यो अवस्थामा पार्टी फुटाउनु हुँदैन भन्ने बाबुरामजीलाई राम्ररी थाहा छ । हामी २० औं वर्ष सँगै काम गरेका छौं । म र उहाँलाई एकअर्काबारे राम्ररी थाहा छ,’ उनले भने, ‘हामी सँगै हुँदा मात्र प्रगतिशील संविधान जारी हुन सक्छ । त्यो कुरा हामी दुवैलाई राम्ररी थाहा छ।’
स्थायी समितिको सोमबारको बैठकले भट्टराई पक्षका नेता गंगाराम श्रेष्ठ र रामरिझन यादवलाई समानान्तर समिति गठन गरेको भन्दै तीन र एक महिनाका लागि केन्द्रीय सदस्यबाट निलम्बन गरेको थियो ।
कारबाही गरी पार्टी विभाजनतिर लागेको भट्टराई पक्षले आरोप लगाइरहेका बेला दाहालले आफू र भट्टराई सँगै छलफल गरे कुरा मिल्ने दाबी गरे । ‘हामी दुईमा वैचारिक मतभेद छैन । केही जोड र कोणमा फरक परेको छ,’ उनले भने, ‘बाबुरामजी र म बस्यौं भने कुरा मिल्छ ।’
एमाओवादीभित्र विमतिहरूमा छलफल गर्न रोकावट नभएकाले आत्तिनुपर्ने कारण नभएको उनले जनाए । ‘आन्तरिक विमति समाधान गरी पार्टी एक गराउने हाम्रो प्रयास अन्तिम समयसम्म हुनेछ,’ उनको भनाइ थियो, ‘त्यति हुँदाहुँदै पनि पार्टी एक गराउन सकिएन भने आन्तरिकभन्दा बाह्य शक्तिको खेल रहेछ भनौंला ।’ उनले माओवादी विभाजन हुनुमा ‘मूल नेतृत्व’ लाई कमजोर गराउने सचेत योजना रहेको बताए । ‘अझै पनि मूल नेतृत्व कमजोर गराउने प्रयासहरू जारी छन्,’ उनले सुनाए ।
उनले पार्टीको विधानअनुसार तीन पटक बैठकमा सहभागी नभए स्वतः पदबाट हट्ने प्रावधानअनुसार नेताद्वय टोपबहादुर रायमाझी र देवेन्द्र पौडेल स्थायी समितिमा नरहेको बताए । सँगसँगै पार्टी विधि र विधानविपरीत जानेलाई कारबाही गरिने उल्लेख गरे । ‘विधि र विधान मान्नु सबै सदस्यको कर्तव्य हो,’ उनले भने, ‘त्यसलाई नमान्नेहरू कारबाहीमा पर्नु सामान्य कुरा हो । जे पनि हेरिरहन सकिँदैन ।’ भट्टराईले सामाजिक सञ्जालमार्फत ‘क्षतविक्षत पार्टीलाई पुनर्निर्माण गर्न खोज्ने र वैचारिक बहस चलाउनेमाथि प्रशासनिक डन्डा चलाउनुलाई विनाशकाले विपरीत बुद्धिबाहेक अरू के भन्ने?’ बताएको अर्को दिन दाहालले यस्तो चेतावनी दिएका हुन् ।
दाहाल र भट्टराईबीच मंगलबार नेताहरूको कारबाहीबारे टेलिफोनमा कुराकानी भएको छ । भट्टराईले निकट नेताहरूलाई कारबाही गरेकामा असन्तुष्टि जनाएका थिए । कारबाहीमा परेका नेता श्रेष्ठ र यादव भट्टराई प्रधानमन्त्री हुँदा प्रमुख स्वकीय सचिव र प्रेस सल्लाहकार थिए ।
पार्टीभित्र बेलाबेला अन्तरसंघर्ष हुनु स्वाभाविक भएको बताउँदै दाहालले आगामी केन्द्रीय समिति बैठकले विवाद व्यवस्थापन गर्ने जनाए । ‘बाबुरामजीहरू पदाधिकारी, स्थायी समिति बैठकमा आउनु हुन्न, यसले मलाई केही अप्ठ्यारो त परेकै छ,’ उनले भने, ‘तैपनि हामी वैचारिक व्यवस्थापन समितिमार्फत छलफल गरिरहेका छौं ।
आगामी केन्द्रीय समिति बैठकमा यसबारे घनीभूत छलफल हुन्छ ।’ एमाओवादी र नेकपा-माओवादीबीच कार्यगत एकता गर्नुको कारण ‘प्रगतिशील संविधान’ बनाउन भएको दाहालको दाबी थियो ।
कान्तिपुर दैनिकबाट