काठमाण्डु, २० साउन- प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा पशुपतिको दर्शन र पूजाआजा गरेको विरोधमा भारतीय संसदकाे तल्लो सदन लाेकसभामा हंगामा भएको
छ ।
मोदीले पशुपति दर्शन गरेको विषयले लोकसभामा मंगलबार हंगामा मच्चिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
दुई दिने नेपाल भ्रमणमा आएका मोदीले सोमबार पशुपति दर्शन गर्नुका साथै पशुपति क्षेत्रको विकासका लागि २५ करोड सहयोगकाे घोषणा गरेका थिए ।
तृणमुल काँग्रेसका सांसद सुदीप बंदोपाध्यायले संसद बैठकमा पशुपतिको दर्शन गरेकामा आपत्ति जनाएको नवभारत टाइम्सको अनलाइन संस्करणले जनाएको छ ।
विवादका कारण संसदको बैठक नै स्थगित भएको छ । समाचारका अनुसार मोदीले केही दिनअघि सकिएको इदको अवसरमा शुभकामना नदिएको तर पशुपति दर्शनका लागि नेपाल गएको भन्दै आक्रोश पोखेका थिए ।
अन्य केही सांसदले त्यस विषयमा बोल्न समय मागेकामा सभामुखले समय नदिएपछि संसदमा हंगामा भएको थियो ।