यसरी गरिन् महिलाले पुरुषको अपहरण

काठमाण्डु टुडे २०७१ साउन २० गते ११:३० मा प्रकाशित

कास्की, २० साउन – जवरजस्ती सवारी साधनमा राखी अपहरण गरेर लैजाने दाङ जिल्ला घोराही रामपुर–४ बस्ने २५ बर्षीया मिना भण्डारी सहित २ महिला र ९ पुरुष गरी ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अपहरणमा पर्ने पोखरा उपमहानगरपालिका–८ नयाँ बजार स्थित सस्तो बजारमा फलफूल पसल गरी बस्ने दाङ जिल्ला घर भएका ६२ बर्षीय होमनाथ अधिकारी हुन् ।

मङ्गलबार अधिकारीको पसलमा आएका २ जना महिलाहरु आई फलफुलको मूल्यमा सामान्य भनाभन हुदाँ निज महिलाहरुले बा.७ च ५२७१ नम्वरको टाटा सुमो गाडी जवरजस्ती उनलाई राखी लगेका थिए ।

सो घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीले अपहरित अधिकारीको बारेमा खोजतलासको लागि अन्य प्रहरी कार्यालयहरुलाई जानकारी गराउना साथ इलाका प्रहरी कार्यालय रनौरा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सैनामैना नगरपालिका–७ स्थित महेन्द्र राजमार्गमा चेकजाँच गर्दा अपहरित होमनाथ अधिकारी सहित उनीहरुलाई फेला पारेको थियो ।

निजहरुबीच लेनदेन बिबाद भएकोले निजलाई दाङ जिल्ला तर्फ लैजान लागेको प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ ।

निजहरुलाई रुपन्देहीबाट जिल्ला प्रहरी कार्यालय कास्की ल्याउने पहल हुनका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us