काठमाण्डु, २० साउन– सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने क्रममा आफूले प्रधानमन्त्री सुशील कोइरालाको कोट तानेको स्वीकार गरेका छन् ।
रिपोर्टर्स क्लबमा मंगलबार भएको कार्यक्रममा उनले अस्वस्थताका कारण कमजोर भएका प्रधनामन्त्रीलाई आफूले सहयोग मात्र गरेको बताए । मोदी भ्रमणको सवारीमन्त्री रहेका रिजालले पटकपटक कोइरालाको पाखुरामा समातेर तानेका थिए ।
‘प्रधानमन्त्रीको अवस्था कमजोर भएका कारण सहयोग गरेको हु’, रिजालले भने, ‘मिडियाले त्यसलाई अनावश्यक उचाल्ने काम गरे ।’ प्रधानमन्त्रीले मोदीका अगाडि कुटनीतिक व्यवहार नदेखाएका कारण मन्त्रीले कोट तानेको भन्ने प्रचार गरेकामा आफू दु:खी भएको उनको भनाइ थियो । मोदी स्वागतका क्रममा कोइरालाको केही गल्ती नभएको दाबी रिजालले गरे ।
‘यस विषयलाई लिएर प्रधानमन्त्रीका बारेमा चर्चा गर्दा मलाई अत्यन्तै दु:ख लागेको छ’ । रिजालले भने, त्यो दृश्य तपाईहरु हेर्न सक्नुहुन्छ, मेरो बारेमा कुरा गर्नु ठीकै हो तर प्रधानमन्त्रीलाई जोडेर यो विषयलाई चर्चा गर्नुअत्यन्तै दु:खको कुरा हो ।’
विदेशी विशिष्ट पाहुनाका अगाडि आफ्नो प्रधानमन्त्रीको पाखुरा समातेर तानेकामा उनको कुटनीतिक वृत्तमा चर्को आलोचना भएको छ ।
कार्यक्रममा उनले भारतीय प्रधानमन्त्रीको भ्रमणबाट नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुगेको बताए । मोदी भ्रमणले नेपालका अगाडि धेरै अवसरको सृजना गरेको दाबी गर्दै उनले त्यसबाट नेपालले फाइदा लिन सक्नुपर्ने उल्लेख गरे ।