पहाडिया मिडियाले मोदी आउँदा मधेसविरोधी भावना फैलाए

काठमाण्डु टुडे २०७१ साउन २० गते ८:१२ मा प्रकाशित

तपाईंहरु सधैं हिन्दीमा बोल्नु हुन्थ्यो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसदलाई सम्बोधन गर्दा नेपालीमै बोले, त्यो दृश्य हेर्दा लाज लागेन ?
rajendra mahatoमोदीजीले संसदमा नेपाली बोलेर राम्रो गरे । उनले नेपाल र नेपाली भाषाको सम्मान गरे । यसको अर्थ हामीलाई होच्याएको होइन । अरुको भषाको पनि सम्मान गर्नुपर्छ भनेर सम्झाएको हो ।  उनले मधेससहित अरु भाषालाई होच्याउनेहरुलाई अरु भाषाको अपनाम नगर भन्ने सन्देश दिन खोजे । तर यसलाई मधेसीहरुलाई पाठ सिकाउन खोजेको भन्ने गलत अर्थ लगाइयो ।
भ्रमणका क्रममा मोदीले मधेस केन्द्रित दललाई महत्व नदिएको कुरा आइरहेको छ नि ?
कसले भन्यो तपाईंलाई यस्तो कुरा ? मोदीजीले हामी मधेस केन्द्रित दल र काँग्रेस, एमाले र माओवादीका सिनियर मधेसी नेतासँग सामूहिक छलफल गरे । मधेसका विषयमा विकेन्द्रित नभई साझा मुद्धा उठाएर अघि बढ्नुस् भनेका छन् । यसलाई कसरी मधेसलाई महत्व नदिएको भन्न मिल्छ ?
मोदीले संसदमा ४८ मिनेट सम्बोधन गर्दा एकपटक पनि मधेस शब्द उच्चारण गरेको सुनिएन, यही हो त महत्व दिएको ?
हाम्रोमा कसले कसरी के बोल्यो त्यसको मतलब हुँदैन ।  सुन्नेले जे सुन्यो त्यही हुन्छ । मोदीले बोलेको कुराको अर्थ अरुले लगाउने ? मोदी भारतका प्रधानमन्त्री हुन् । उनले कुनै मधेसवादी दलको नेताले जस्तो भाषण गर्न त मिल्दैन नि ? उनले समग्र नेपालको कुरा गरेका छन् । त्यसमा मधेस पनि पर्छ । मोदीले सन्तुलित कुरा नगरे कसरी भारतको प्रधानमन्त्री हुन्छन् त ?
सामूहिक भेटका क्रममा तपाईंहरु मध्येकै कसैले संसदमा मधेस शब्द उच्चारण नगरेकामा मोदीसँग गुनासो गरेछन् नि ?
एकजना साथीले यो कुरा गर्नुभएको थियो । यो उहाँको निजी विचार हो ।
त्यसको जवाफमा मोदीले चाहिं के भने नि ?
उनले म भारतको प्रधानमन्त्री हुँ । मधेसको मात्र कुरा गर्न मिल्दैन ।  मैले समग्रमा नेपालको कुरा गर्ने हो भनें । त्यसमाथि बोल्ने क्रममा मैलै हिमाल, पहाड र तराईको कुरा गरेको छु । उनले शब्द मेरो, भावना तपाईंको हुनसक्छ भने ।
मोदीले तपाईंहरुलाई क्षेत्रीय राजनीतिको सोचबाट माथि उठ्नुस् भनेछन् । कुरो त ठीकै हो नि होइन ?
कसले भन्यो यस्तो कुरा ? मोदीजीले मधेस, पहाड, हिमाल सबैको विकासको कुरा गरे । नेपालको कुरा गरे ।
तपाईंहरु एक मधेस एक प्रदेश भन्नुहुन्छ, उनले त हिमाल, पहाड र तराईलाई जोड्ने संविधान चाहिन्छ भनिदिए, यो कसरी तपाईंहरुको पक्षमा भयो त ?
यो काठमाण्डु केन्द्रित र मधेसविरोधी मिडियाले चलाएको हल्ला हो । कसले भन्यो मोदीले संसदमा हिमाल, पहाड र तराई ठाडो चिरा परेको संघीयता होस् भनेर बोलेका छन् भनेर ।
आफूलाई फाइला हुने किसिमको अर्थ लगाएर हुन्छ ? उनले त हिमाल, पहाड, तराई सबैको भावनाको संविधानमा प्रतिनिधित्व होस् । पहाडको मात्र संविधान नबनोस् भनेका हुन् । किन उल्टोउल्टो बुझ्ने काम हुन्छ यहाँ ? हामी मिडियाको पछाडि लागेर राजनीति गर्दैनौं । कसैले मोदीले मधेसलाई अस्वीकार गरे भन्ने हल्ला चलाउँदैमा हामी हाम्रा मुद्धा छाड्दैनौं । यसरी हाम्रा एजेण्डा समाप्त पार्न सकिन्छ भन्ने लागेको छ भने त्यो दिवा स्वप्न मात्र हो । कसैले मोदीका कुरालाई उल्टोपाल्टो व्याख्या गरेर हिमाल, पहाड, तराईको संविधान बनाउन चाहेको हो भने मधेसलाई त्यो स्वीकार्य हुँदैन ।

मिडियामा आएका सबै झुठ, तपाईंले भनेका जति सबै सही ?
यो सतीले सरापेको देश हो । यहाँ सत्यको कहिल्यै वकालत गरिंदैन । काठमाण्डु केन्द्रित पहाडिया  मिडियाले उल्टो प्रचार गरेर दरिद्र मानसिकता देखाएको छ । मोदीले सबैलाई स्वीकार्य हुने संविधान बनाउ भनेको मधेसीको भावनाविपरीत नगर भनेको होइन ? यसमा कहाँबाट मोदीले मधेसलाई मतलब नगरेको कुरा आउँछ ? आफ्नो मनले व्याख्या गरेर अरुले भन्दै नभनेका कुरा लेख्ने ? नेपालमा सर्वस्वीकार्य संविधान बनेन भने अस्थिरता हुन्छ र त्यसको असर भारतमा पर्छ यो कुरा मोदीले राम्ररी बुझेका छन् । त्यही भएर उनले सबैको भावनाको प्रतिनिधित्व होस् भन्ने कुरालाई जोड दिएका हुन् ।
मोदीले तपाईंहरुलाई पहाडको विरोध गरेर मधेसका समस्याको समाधान हुँदैन भनेछन् नि है  ?
हामीलाई पहाडविरोधी कुरा नगर भन्नुको अर्थ अरुलाई पनि मधेसविरोधी कुरा नगर भनेको होइन र ? यहाँ त पहाडको विरोध नगर भनेको कुरालाई मोदी मधेसको विपक्षमा रहेको भनेर गलत समाचार प्रवाह गरियो । आजको दुनियाँमा कसैले कसैको अपमान होइन, सबैको सम्मान गर्न सिक्नुपर्‍यो । समग्र नेपालको पक्षमा बोल्नु भनेको हिमाल, पहाड, तराई सबैको पक्षमा बोल्नु हो ।

rajendra 2यहाँ त खाली पहाडको मात्र विकास गर्ने संस्कार छ । बजेटमा हिनामिना गरेर पहाडमै मात्र खन्याइन्छ । मोदीले उनले त हिमाल, पहाड, मधेस सबैको विकास हुनुपर्छ भनेको । त्यसलाई नेपालका मिडियाले मोदीले मधेसलाई इन्कार गरे भनेर लेखे । मधेसले विकास नभएको गुनासो गर्छ, अधिकार नपाएको गुनासो गर्छ । हामीले पहाडको विरोध पनि गरेको होइन, उनले नगर भनेको पनि होइन ।

मोदीले तपाईंहरुलाई हेपेको जस्तो त देखियो नि, अरु दलका नेतालाई छुट्टाछुट्टै भेट्ने तपाईंहरुलाई आमसभा जस्तो गरेर सामूहिक भेटे । यसको अर्थ तिमिहरुको एक्लै भेट्ने हैसियत छैन भन्न खोजेको होइन ?
हाम्रो सामूहिक भेटबाट आजको दिनमा पनि हामी मधेसी सबै एकै ठाउँ छौं भन्ने सन्देश दिन खोएिको हो । त्यहाँ हामी मधेस केन्द्रित दलका नेता मात्र थिएनौं । काँग्रेस, एमाले र एमाओवादीका मधेसी नेता पनि थिए । यसको अर्थ मधेसका मुद्धामा हामी मात्र होइन, ती दलका मधेसी नेता पनि सँगै छन् भन्ने हो । यसले हामीलाई कसरी घाटा भयो ? बरु फाइदा भएको छ ।

मोदीले सबैलाई सँगै भेटेर दिन खोजेको सन्देश यो हो कि मधेसको सवाल भनेको मधेसी र गैरमधेसी सबै दलमा रहेका नेतारुको जिम्मेवारी हो । त्यहाँको मुद्धा र समस्याका बारेमा सबैले सामूहिक रुपमा सोच्नुपर्छ भन्ने हो । यो कुरालाई हेपेको भन्ने नसोचरे यसरी बुझ्दा के फरक पर्ला ? यो कसैले नठाने हुन्छ कि मधेसीलाई होच्याएर मधेसका प्रतिष्ठा घट्छ र मुद्धा समाप्त हुन्छ ।
मधेसलाई होच्याउँदैमा के फाइदा होला त उनीहरुलाई ?
नेपालको विकास हुुनुपर्छ, तर मधेस कंगाल भइरहोस् भन्ने मानसिकताले मुलुकलाई कहिल्यै माथि पुर्‍याउँदैन । मधेस सदियौंदेखि विभेदमा परेको छ । नयाँ नपालसँगै नयाँ मधेस बन्नुपर्छ । तर यहाँ नेपाल नयाँ बनाऔं, मधेस पूरानै भए पनि फरक पर्दैन भन्ने मानसिकता भएकाहरु छन् ।
मोदी भ्रमणले दिन खोजेको सन्देश के हो ?
म व्यक्तिगत रुपमा मोदी र सुष्मा स्वराजको भेटबाट निकै खुसी छु । मोदीले नेपालमा नेपालीले सुन्न खोजेको के हो त्यो सुनाए । नेपालको राष्ट्रिय परिवेशमा भारतविरोधी गलत मनस्थिति छ । भारतले नेपाललाई सधैं हेप्छ, खान्छ र ठग्छ, नेपालीको आदर गर्दैन भन्ने गलत भावना फैलाइएको छ । त्यो सत्य थिएन । भारतविरोधी मानसिकता बोकेको कुप्रचागर्ने तत्वमाथि मोदीले प्रहार गरे । भारतले नेपालको सम्मान गर्छ भन्ने सन्देश दिन मोदी सफल भए ।

सम्बोधनका क्रममा उनले लुम्बिनीको कुरा गरे, बुद्धको कुरा गरे, जनकको कुरा गरे । नेपालको आन्तरिक मामलामा हस्तक्षेप नगर्ने, आवश्यक पर्दा सहयोग गर्ने कुरा गरे । अर्को विकासका सन्दर्भमा उनले भने कि नेपालको स्थिरता र विकासका लागि भारतले सधैं सहयोग गरेको छ र गर्छ  । स्थिरता पाउने बाटो संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान हो । सबैको भावना समेटेर संविधान बनाउनुस् भने । सबै फूलको गुच्छा संविधानमा राख भनेका छन् । तर यहाँ त यसरी प्रचार गरियो कि संविधानमा मधेसको फूलको गुच्छा नराख । मिडियाले यस्तो गलत कुरा लेख्न मिल्छ ?
तपाईंहरुले चाहिँ मोदीसँग के कुरा माग्नुभयो ?
हामीले समृद्ध नेपालको विकासमा भारतको सहयोग चाहियो भन्यौं । त्यसमा पनि मधेसको विकासमा । तपाईंले विकासको नाराबाट चुनाव जित्नुभयो । त्यो हावा नेपालमा पनि चलाइदिनुस् भन्यांै ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us