
काठमाण्डु – गुजरातलाई जादुमयी रूपमा समृद्ध बनाइसकेका, सिंगो भारतमा चामत्कारिक विकास गर्ने जिम्मेवारी पाएका र छिमेकी नेपाललाई पनि सहायता गर्ने सदिक्षा बोकेर काठमाडौं आउँदै गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष जहाजमा आइतबारको इन्डियन एक्सप्रेस नपरेको भए बेस हुने थियो ।
संयोग नै होला, नेपालमा विकासको बिगौती वितरण गर्न मोदी काठमाडौं उड्ने दिन दिल्लीमा इन्डियन एक्सप्रेसले लेखेको थियो– ‘गुजरातको सजनपुराका करिब डेढ सय बालबालिका विद्यालय पुग्न हरेक दिन ६ सय मिटर चौडा हिरन नदीमा पौडी खेल्न बाध्य छन् ।
ती विद्यार्थी पित्तलका गाग्री र ठुल्ठूला भड्डुको सहारामा नदीको वेगसँग संघर्ष गर्दै आधा घन्टामा खोला तर्छन्, त्यसपछि पनि पाँच किलोमिटर हिँडेर सबैभन्दा नजिकको विद्यालय पुग्छन् र भिजेको लुगासँगै बेन्चमा बसेर आधुनिक भारतको वैज्ञानिक शिक्षा ग्रहण गर्छन् ।’
नरेन्द्र मोदी सन् २००१ देखि २०१४ सम्म गुजरातको मुख्यमन्त्री भए, चामत्कारिक विकासका कारण भारतीय मिडियाले उनलाई गुजरातका सिइओ पनि भने । तर, तिनै सिइओले १३ वर्ष शासन गरेको राज्यका बालबालिका र तिनका अभिभावकले इन्डियन एक्सप्रेसलाई भनेका छन्, ‘हामीले त्यतिवेलाका मुख्यमन्त्री नरेन्द्र मोदीलाई पनि भेट्यौँ, अहिलेकी मुख्यमन्त्री आनन्दी बेनसँग पनि गुहार लगायौँ, तर उताबाट केही राम्रो सन्देश आएन, त्योभन्दा छिटो स्कुल गएका छोराछोरीबारे नराम्रो सन्देश आउला भन्ने डर छ ।’
नेपालको संसद्को पोडियममा उभिएर बोलिरहँदा नरेन्द्र मोदी ती गुजराती जनताका पनि प्रधानमन्त्री हुन् र उनको देशमा पनि जनता चरम विपन्नतासँग संघर्ष गरिरहेका छन् भन्ने कुनै आभास थिएन । उनी आफ्ना सबै जनताको आकांक्षा सिद्ध गरेर अब छिमेकीका दु:ख, दर्द बुझ्न हिँडेका समाजसेवीजस्ता देखिन्थे ।
उनी खासमा एउटा यस्तो फिलान्थ्रोपिक एक्टिभिस्ट अर्थात् परोपकारी महापुरुषजस्ता देखिए जसले नेपालीको रुवाइ, कराइ सुन्न र देख्न नसकेर स्पष्ट भाषामा भने, ‘तपाईंहरूसँग सडक छैन– म हाइवे बनाइदिन्छु, तपाईंहरूसँग इन्फर्मेसन टेक्नोलोजी छैन– म त्यसमा सहयोग गर्छु । तपाईंहरूसँग ट्रान्समिसन लाइनसमेत छैन, म त्यो पनि जोडिदिन्छु । म छिमेकीको दु:ख देख्न सक्दिनँ, म सब बनाइदिन्छु ।’ मोदीको भाषण सुन्दा उनी आफ्नो देशमा विकासको रुद्री सकेपछि छिमेकीलाई प्रसाद बाँडेर पुन्य कमाउन हिँडेको प्रतित भयो ।
मोदीले कुनै भावनात्मक आवेगले अथवा नेपालीप्रति कुनै द्वेषले होइन, नेपालजस्ता देशको निर्विवाद नेता बन्ने सचेत दृष्टिकोणले यो सब भनेका हुन् । किनकि उनी सोनिया अथवा राहुलजस्ता शोकाकुल संयोगले नेता भएका होइनन्, मनमोहन सिंहजस्तै भद्र व्यक्तित्वले जिम्मेवारी पाएका होइनन्, उनी आफ्नै ‘डिजाइन’ र आफ्नै ‘मुभ’मा नेता भएका हुन् । उनी जति माथि पुग्दै छन्, त्यति भव्य डिजाइन गर्दै छन् ।
अहमदाबाद र दिल्लीको सफलतम् चढाइपछि उनी दक्षिण एसियाको ‘रिजनल लिडर’का रूपमा स्थापित भएर ‘ग्लोबल लिडर’का रूपमा आफ्नो दाबेदारी प्रस्तुत गर्न चाहन्छन् । त्यसका लागि उनले गुजरात अथवा बिहारको होइन, काठमाडौं अथवा ढाकाको गरिबी देख्नु छ त्यसलाई सम्बोधन गर्नु छ । त्यसैले त गाग्रोमा चढेर नदी तर्न बाध्य गुजराती विद्यार्थीका लागि पुल बनाउन समय लागे केही छैन, नेपाली विद्यार्थीका लागि भारतमा दिइने छात्रवृत्ति दोब्बर गरेको घोषणा गर्न हतारो छ ।
मोदीले नेपाली संसद्मा उभिएको पहिलो एक मिनेटमै सांसद र नेपाली जनताको भावना सचेत रूपमा ‘हाइज्याक’ गरे । वास्तवमा नेपाली नेता राष्ट्रियता बुझाउन दिल्ली जान्छन् र भारतीय नेताहरू लुट्न नेपाल आउँछन् भन्ने जबर्जस्त भावना छ । तर, देशभक्तिको भावनाले ओतप्रोत नेपालीलाई मोदीले ४२ मिनेटमै ‘कन्फ्युज्ड’ गराइदिएका छन् । ‘म फेरि नेपाल आउन पाउँदा गौरवान्वित छु,’ भारतीय प्रधानमन्त्रीले अनपेक्षित रूपमा नेपालीमा भाषण सुरु गर्दा नेपाली संसद् हर्षविभोर भयो ।
मोदीको चाहनाअनुसार उनको पहिलो वाक्य पूरा हुँदा नहुँदै टेबुल ठोकेको आवाजले सदन गुन्जायमान भयो । त्यसपछि उनले भन्न भ्याए– ‘गौतम बुद्ध जन्माएको यो नेपाली भूमिलाई म नमन गर्न चाहन्छु ।’ गौतम बुद्ध भारतका जन्मेका हुन् भनेर पाठ्यपुस्तकमार्फत विद्यार्थीलाई र साहित्यमार्फत् संसारलाई पढाउँदै आएको भारतका प्रधानमन्त्रीले नेपालको संसद्मा उभिएर गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भनेर घोषणा गर्नु नेपालले ठूलै युद्ध जितेभन्दा कम विषय होइन ।
त्यस्तो युद्ध जितेको घोषणा गरिदिने मोदीप्रति असाधारण सम्मान जनाउँदै सांसद्ले फेरि सदन गुन्जयमान गराए । नेपाली सांसद् हर्षले गद्गद् भएको देखेर हौसिएका मोदीले बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने वाक्य नौपटक दोहोर्याए । पछि त मोदीले ‘नेपाल सार्वभौम देश हो’भन्दा पनि हर्षित भएर सांसदहरूले टेबुल बजाउन थाले । यो सब देखेर मोदीले पक्कै पनि अनुमान गरे, नेपालको राष्ट्रियता कति दबिएको छ, कति आहत छ ।
संयोग के छ भने मोदी काठमाडौं आउनु तीन दिनअघि अमेरिकी विदेशमन्त्री जोन केरी दिल्लीमा थिए । जसरी मोदीले नेपालबाट के–के लग्ने हुन् भन्ने चिन्ता यता छ, उता केरीले मोदीसँग के–के सम्झौता गराउने हुन् भनेर सन्त्रास थियो । त्यहीवेला अमेरिकाले भारतको जासुसी गरेको र भारतको राष्ट्रिय सुरक्षा नै चुनौतीमा पारिदिएको भनेर सन्त्रास फैलिएको थियो ।
जनतालाई आश्वस्त पार्न विदेशमन्त्री सुष्मा स्वराज भन्दै थिइन्, ‘भारत सार्वभौम देश हो, आफ्नो हित प्रतिकूल कसैसँग सम्झौता गर्दैन ।’ अमेरिकाका अगाडि भारत झुक्दैन भनेर जनतालाई आश्वस्त पार्नुपर्दा मोदीहरूलाई जति दु:ख लाग्छ होला, भारतका अगाडि नेपाल झुक्दैन भनेर विश्वस्त पार्न नेपाली नेतालाई पनि त्यत्तिकै कष्ट हुन्छ । मोदीले यति बुझे भने उनी नेपालका असल मित्र हुनेछन् । त्यसका लागि उनले परोपकार गर्ने दाता होइन, साझेदारी गर्ने मित्रको भावना बनाउनु आवश्यक छ ।