जीतबहादुरलाई हेर्नेको भीड

काठमाण्डु टुडे २०७१ साउन २० गते ६:२८ मा प्रकाशित

कावासोती, २० साउन – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै नेपाल आएका जीतबहादुर सारु मगरलाई हेर्न स्थानीयको भीड लागेको छ ।

jitbahadurनवलपरासीको कावासोतीस्थित लोकाहामा दाजु दशरथको घरमा आएका उनलाई हेर्नेको भीड लागेको हो । आइतबार नेपाल आएका जीतबहादुरलाई प्रधानमन्त्री मोदीले परिवारको जिम्मा लगाएपछि उनीहरु आइतबार नै परिवारका साथ घर आएका थिए ।

होटल हायातबाट निस्केदेखि नेपाली मिडियाको भेटघाटले घर आउँदा रातिको १० बजेको थियो दाजु दशरथले भने– “काठमाण्डुमा केहीबीचमा र नारायणघाटमा रोकियो घर आउँदा वरिपरिकाले पर्खेर बस्नुभएको थियो ।” रोकिनुको कारण थियो मिडियामा जीतबहादुरको अन्तर्वार्ता । राति घर आएका उनलाई हेर्न सोमबार बिहानैदेखि गाउँमा मानिसहरु आउन थालेका थिए ।

गैँडाकोट, प्रगतिनगर, मुकुन्दपुर, चोरमारा, कावासोती, गिरुबारीलगायका ठाउँबाट उनलाई हेर्न आउनेको सङ्ख्या उल्लेखनीय रहेको दाजु दशरथले बताए ।

लोकाहामा रहेको घर आउने मान्छेको भीडका कारण आँगनमा टेन्ट टाँगेर कुर्ची राखिएको छ भने जीतबहादुर आफूलाई हेर्न आउनेसँग कुरा सुन्ने र टाउको हल्लाएर हाँस्ने गर्छन् । धेरैजसो नेपालीमा सोधिएको कुराहरुको उनी हिन्दीमा जवाफ फर्काउने गर्छन् । सानैबाट भारतमा बसेका सारुको नेपाली भाषामा भन्दा हिन्दीमा बढी दख्खल छ ।

धेरै जनाले टिभी, रेडियो र पत्रिकामा जीतबहादुर घर आएको खबर पाएकाले हेर्न आएको बताएका छन् । घर भित्राएको नयाँ ‘दुलही’ लाई मुख हेर्न लाग्ने भीडजस्तै जीतबहादुरलाई हेर्नेहरुको भीड लागेको कावासोतीका गणेश विकले जानकारी दिए ।

कम बोल्ने जीतबहादुरको हसिलो अनुहारले धेरैलाई मक्ख बनाएको छ ।

घरमा आएकालाई चिया र पानी खुवाउने काममा व्यस्त छन् दाजु दशरथ । हसिलो अनुहारमा देखिएका दाजु घरमा आएकासँग प्रफुल्ल भएर कुरा गर्नुहुन्छ । दाजु प्रायः भाइ जीतबहादुरसँगै बस्छन् । जीतबहादुर भने दाजुका छोरा र छोरीसँगको गफमा रमाउँछन् । गाउँका मान्छे धेरैपछि देखेकोमा उनलाई सुम्सुम्याउँछन् । दिल्लीमा छ भन्ने सुनेका थियौँ आज यसरी देख्न पाएकोमा खुसी लाग्यो गिरुबारीबाट भेट्न आएकी गोपी सुनारले भनिन् ।

पहाड (नरम–३ नगरडाँडा)मासँगै घर भएको भन्दै उनले जीतबहादुरलाई सानो छँदाको कुरा स्मरण गराएका थिए । जीतबहादुरसँग फोटो खिच्नेहरुको पनि उत्तिकै भीड छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us