अन्यायपूर्ण कारबाही तत्काल फिर्ता गर: भट्टराई पक्ष

काठमाण्डु टुडे २०७१ साउन २० गते २:५३ मा प्रकाशित

काठमाण्डु, २० साउन– एकीकृत माओवादीको असन्तुष्ट बाबुराम भट्टराई पक्षले आफू पक्षधर नेतामाथि गरिएको अन्यायपूर्ण कारबाही तत्काल फिर्ता baburam_250लिन माग गरेको छ ।
भट्टराई पक्षीय नेता देवेन्द्र पौडेलले कारबाही फिर्ता गरी तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग गरे । ‘पार्टीभित्रको बहसलाई कारबाहीले हल गर्ने कुरा ठीक होइन’, पौडेलले काठमाण्डु टुडेसँग भने, ‘अन्यायपूर्ण कारबाही केन्द्रीय समितिको बैठक बोलाएर तत्काल फिर्ता हुनुपर्छ ।’

उनले संस्थापन पक्षले पार्टी भिभाजनको बिजारोपण गरेको आरोप लगाउँदै आफूहरु अझै पनि पार्टी पुनर्गठन र रुपान्तरणको पक्षमा रहेको बताए ।

उनले जिल्लाहरुमा रहेको विवाद व्यवस्थापन गर्न विवाद समाधान समिति र बहसको टुंगो लगाउन वैचारिक बहस व्यवस्थापन समिति गठन भइसकेको अवस्थामा एक पक्षीय रुपमा कारबाही गरेर पार्टी एकता कमजोर बनाउने काम भएको टिप्पणी गरे ।

‘विवाद समाधान गरेर पार्टी पुनर्गठन र रुपान्तरण गर्नुपर्ने बेलामा एकतर्फी रुपमा कारबाही गरेर पार्टी विभाजनको बिउ रोकिएको छ’, पौडेलले भने, ‘हामी अझै पनि पार्टीबाट भाग्ने पक्षमा छैनौं, यही पार्टीलाई पुनर्गठन र रुपान्तरण गर्ने पक्षमा छौं ।’
सोमबार बसेको स्थायइ कमिटी बैठकले पार्टी विधानविपरीत विभिन्न जिल्लामा समानान्तर कमिटी गठन गरेको भन्दै भट्टराई पक्षीय पोलिट्ब्युरो सदस्य गंगानारायण श्रेष्ठ र केन्द्रीय सदस्य रामरिझन यादवलाई तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो ।

यस्तै बिनाजानकारी तीन पटकभन्दा बढी बैठकमा अनुपस्थित रहेको भन्दै टोपबहादुर रायमाझीलाई सचिव र देवेन्द्र पौडेललाई स्थायी समिति सदस्यबाट पदमुक्त गरी केन्द्रीय सदस्यमा झारिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us