निःशुल्क गराउने सहमतिपछि खुल्यो तालाबन्दी

काठमाण्डु टुडे २०७१ साउन १९ गते १३:१८ मा प्रकाशित

काठमाण्डु , १९ साउन – एमाओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी) र उच्चमाध्यमिक विद्यालय सङ्घ (हिसान) बीच उच्चमाध्यमिक शिक्षा परिषद्को छात्रवृत्ति पाएका विद्यार्थीलाई पूर्ण रूपमा निःशुल्क गराउने विषयमा सहमति भएको छ ।

hsebसहमतिअनुसार छात्रवृत्तिका विद्यार्थीसँग शुल्क लिएको पाइएमा फिर्ता गरिनेछ । सो सहमतिमा हिसानका अध्यक्ष उमेश श्रेष्ठ र क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले हस्ताक्षर गर्नुभएको छ ।

क्रान्तिकारीले छात्रवृत्तिका विद्यार्थीसँग पनि मनोमानी शुल्क लिएको भन्दै आइतबारदेखि काठमाडौंँ उपत्यकाका निजी (संस्थागत) उच्चमाविको प्रशासनमा तालाबन्दी गरेको थियो ।

सहमतिसँगै आफूहरूले तालाबन्दीको कार्यक्रम फिर्ता लिएको क्रान्तिकारीका उपाध्यक्ष जागृत रायमाझीले बताए ।

सहमतिअनुसार छात्रवृत्ति व्यवस्थापनका विषयमा सरोकार भएकाहरुसहितको कार्यदल गठन गरिनेछ ।

परिषद्ले पनि आफूले छात्रवृत्तिमा पठाएका तीन प्रतिशत विद्यार्थीसँग शुल्क नलिन निर्देशन दिइसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us