
काठमाण्डु, १९ साउन– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा माइक्रो म्यानेज्मेन्ट ‘सुक्ष्म व्यवस्थापन’ को काम नगर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ध्यानाकर्षण गराएका छन् ।
मोदी बसेको राजधानीको बौद्धस्थित हायत होटलमा सोमबार भएको भेटमा प्रचण्डले भरतले नेपालको आन्तरिक मामिलाका स–साना विषयमा समेत चासो राख्ने गरेको भन्दै त्यसो नगर्न आग्रह गरेका हुन् ।
त्यस्तो व्यवहारले दुई पक्षबीचको सम्बन्ध कमजोर बनाउने उनको भनाइ थियो। ‘भारतीय पक्षबाट खासखास अवस्थामा माइक्रो यानेजमेन्ट‘म्यानेजमेन्ट’ गर्न खोजिएको जस्तो हामीलाई लाग्छ’, प्रचण्डको भनाइ उद्धृत गर्दै भेटमा सहभागी एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले काठमाण्डु टुडेसँग भने, ‘यसले दुइ देशबीचको सम्बन्ध बलियो बनाउन सक्दैन ।’ यस्तै प्रचण्डले दुई मुलुकबीच उच्चस्तरको राजनीतिक सम्बन्ध स्थापन गर्न मोदीले गरेको प्रयासको सराहना गरेका थिए ।
श्रेष्ठका अुनसार प्रचण्डले दुई देशबीचका सबै समस्याबारे राजनीतिक तहमा छलफल गरेर नयाँ शिराबाट सुदृढ सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिएका थिए । तर प्रचण्डले मोदीको प्रयास सकारात्मक भए पनि भारतीय सत्ताका सबै तत्वहरुले उनलाई आफ्नो सोचअनुसार काममा अघि बढ्न सघाउलान् त भन्ने पश्न गरेका छन् ।
‘तराईंको व्यवहारले सकारात्मक संकेत गर्छ’, प्रचण्डले मोदीलाई सोधे, ‘के तपाईंको सोचअनुसार भारतका सबै पक्षले तपाईंलाई सहयोग गर्लान त ?’ भेटमा आफूहरुले सुस्ता, कालापानी लगायत क्षेत्रमा देखिएका सीमा समस्या समाधानका लागि दुई पक्षबीच उच्चस्तरमा छलफल गर्नुपर्ने धारणा राखेको श्रेष्ठले उल्लेख गरे ।
जवाफमा मोदीले नेपालको आन्तरिक मामलामा हस्तक्षेप नगर्नेमा आश्वस्त तुल्याउन खोजेका थिए । दुई पक्षबीच एकअर्काप्रति विविध आशंका रहेको भन्दै मोदीले छलफलका माध्यमबाट त्यस्ता आशंका हटाउन सकिने बताएको श्रेष्ठले जनाए । उनका अनुसार मोदीले एकीकृत माओवादीले शान्ति प्रक्रियामा खेलेको भूमिकाको जस लिन नसकेको टिप्पणी गरे ।
उनले आफूहरुले गरेको कामको महत्वका बारेमा माओवादीलाई समेत थाहा नभएको बताए । ‘तपाईंहरुले शान्ति प्रक्रियामा खुलेको भूमिका कम महत्वपूर्ण छैन’, मोदीको भनाइ उद्धृत गर्दै श्रेष्ठले भने, ‘यसको सम्पूर्ण जस तपाईंहरुमै जान्छ, तर किन जस लिन सकिरहनुभएको छैन मैले बुझ्न सकेको छैन ।’