काठमाण्डु, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने क्रममा सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले प्रधानमन्त्री सुशील कोइरालालाई पटकपटक तानेको विषयलाई परराष्ट्र मामलाका जानकारहरुले गम्भीर त्रुटि भनेका छन् ।

मोदी भ्रमणका सवारीमन्त्रीमसेत रहेका रिजालले त्यस क्रममा पटकपटक कोइरालालाई मोदीकै अगाडि पाखुरा समातेर तानेका थिए । परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले रिजालको अपरिपक्व व्यवहारले नेपालकै बेइज्जत भएको बताए ।
उनले रिजालले विदेशी प्रधानमन्त्रीका अगाडि आफ्ना प्रधानमन्त्रीको हुर्मत लिने काम गरेको आरोप लगाए । ‘हामीमा राजनीतिक र कुटनीतिक संस्कारको कमी छ’, श्रेष्ठले काठमाण्डु टुडेसँग भने, ‘रिजालजीले यसले विदेशी प्रधानमन्त्रीका अगाडि आफ्ना प्रधानमन्त्री र नेपालकै बेइज्जत गर्नुभएको छ ।’
श्रेष्ठले सवारी मन्त्रीले दुई पक्षबीच परिचय गराउने बाहेक ‘भिआईपी’ लाई छुन नमिल्ने उल्लेख गरे ।
अर्का परराष्ट्रविद राजन भट्टराईले उक्त घटनालाई ‘लज्जास्पद’ को संज्ञा दिए । उनले त्यस्तो घटना कुटनीतिक मर्यादाविपरी भएको टिप्पणी गरे । ‘कसैलाई पनि यसो गर्नुस, उसो गर्नुस् भनेर तान्नु राम्रो कुरा भएन’, भट्टराईले भने, ‘उच्चस्तरीय भ्रमणमा त झनै यसो गर्न मिल्दैन ।’
यद्यपि नेपालको कुटनीतिक इतिहासमा यस्ता घटना भइरहने गरेका छन् । २०६८ सालमा नेपाल भ्रमणमा आएका चिनियाँ प्रधानमन्त्री वेनजियाबाओलाई तत्कालिन शिष्टाचार महापाल कालीप्रसाद भट्टले मर्यादाविपरीत पाखुरामा समातेर नातेका थिए । त्यस घटनाको सवत्र्र विरोध भएको थियो ।