काठमाण्डु, १८ साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने औपचारिक भ्रमणका
लागि आज नेपाल आउँदै छन् ।
प्रधानमन्त्री सुशील कोइरालाको मैत्रीपूर्ण निमन्त्रणामा मोदी नेपाल आउन लागेका हुन् । १७ वर्षप्छि भारतीय प्रधानमन्त्री नेपाल आउन लागेको यो पहिलोपटक हो । मोदी विशेष विमानद्वारा बिहान १० बजेर पचास मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुग्ने छन् ।
मोदीलाई विमानस्थलमा १९ तोपको सलामी दिइने छ भने स्वागतका लागि प्रधानमन्त्री सुशील कोइराला विमानस्थल पुग्नेछन् । विमानस्थलबाट मोदी भारतबाटै आएको गाडीमा चढेर सीधै होटल हायात पुग्नेछन् ।
मोदी आउने भएपछि राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ । मोदीलाई ६ घेराको सुरक्षा उपलब्ध गराइने छ । बिहानैदेखि राजधानीका सडकमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । मोदी सुरक्षामा नेपाली सेना समेत खट्नेछ । सडकहरुमा चेकजाँच कडा पारिएको छ ।
नेपाल बसाइका क्रममा मोदीले राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री कोइराला, सभामुख सुवासचन्द्र नेम्वाङ, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा उद्योगपति एवम् व्यापारीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमण टोलीमा मोदी सहित ७० जना अधिकारी सामेल हुने छन् । दुई देशबीच हुने द्विपक्षीय वार्तामा दुवै देशका २५ देखि २७ जना वरिष्ठ अधिकृत सहभागी हुने छन् ।
आज अपराह्न दुवै देशका प्रतिनिधिबीच प्रधानमन्त्री तहमा नेपाल–भारत सम्बन्धका विविध पक्षमा छलफल हुनेछ ।