काठमाण्डु, १७ साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो संरक्षणमा रहेका नेपाली युवा जितबहादुर सारुमगरलाई परिवारको जिम्मा लगाउने बताएका छन् ।
नेपाल भ्रमणको एक दिनअघि शनिबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै मोदीले जितबहादुरलाई परिवारको जिम्मा लगाउने उल्लेख गरेका हुन् ।
नेपालको दुई दिने औपचारिक भ्रमणका सिलसिलामा मोदी आइतबार नेपाल आउँदैछन् । ‘यो मेरो अहोभाग्य हो’, मोदीले भनेका छन्, ‘भोलि आफ्नो छोरा उहाँहरुलाई जिम्मा दिनेछु ।’ जितबहादुरका कारण आफ्नो नेपालसँग भावनात्मक सम्बन्ध कायम भएको मोदीले उल्लेख गरेका छन् ।
नवलपरासी कावासोतीका २६ वर्षीय जितबहादुर मोदीको संरक्षणमा भारतमा बीबीए अध्ययनरत छन् । हिन्दी भाषा नबुझ्ने जितबहादुरलाई आफूले असहाय अवस्थामा उद्धार गरेर ल्याएको भन्दै मोदीले उनका बाबुआमा र परिवारसँग भेटघाट हुने भएकाले आफू उत्साही भएको उल्लेख गरेका छन् ।
उनले आफ्नो नेपाल भ्रमण फलदायी हुने विश्वाससमेत व्यक्त गरेका छन् । भ्रमणका क्रममा नेपालका नेता तथा सभासदसँग हुने वार्ताले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा उठाउने मोदीको विश्वास छ ।
मोदीले नेपाल भ्रमणका क्रममा सोमबार पशुपतिनाथको दर्शन गर्ने अवसर जुर्न लागेकाका पनि खुसी व्यक्त गरेका छन् ।