पहिरोमा मृत्यु हुनेमध्ये ६ जनाको सनाखत

काठमाण्डु टुडे २०७१ साउन १७ गते ११:५१ मा प्रकाशित

चौतारा, १७ साउन– सिन्धुपाल्चोकको जुरेमा गएको भीषण पहिरोमा परी मृत्यु हुनेमध्ये आठ जनाको शव फेला परेको छ ।

तीमध्ये छ जनाको सनाखत भएको छ । सनाखत हुनमा बदासे–१ का ४० वर्षीय अभिषेक श्रेष्ठ, माङ्खा–१ का १८ वर्षीया आष्मादेवी श्रेष्ठ, सोही वडाका १७ वर्षीया रामदेवी श्रेष्ठ र ४० वर्षीया गणेशमाया श्रेष्ठ छन् ।

यस्तै माङ्खा– १ कै ३० वर्षीया विमला श्रेष्ठ र ३५ वर्षीय श्याम श्रेष्ठको पनि पहिरोमा पुरिएर ज्यान गएको छ । सिन्धुपाल्चोक प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भरतबहादुर बोहराले अरु दुई जनाको सनाखत हुन बाँकी रहेको बताए ।

पहिरोमा पुरिएर कयौं मानिस हराइरहेकाले मृतकको संख्या बढ्न सक्ने उनले जनाए । उनले पहिरो प्रभावित क्षेत्रबाट एक विदेशीसहित १६ जना घाइतेको जिविकै उद्धार गरिएको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us