
काठमाण्डु, १७ साउन– सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा कुनै पनि अनुचित घटना हुन नदिन सुरक्षा व्यवस्थालाई निकै कडा पारेको छ ।
मोदी भ्रमणका क्रममा सुरक्षा मजबुद पार्न नेपाली सेनाले उनी सवार हुने सडकमाथि हवाई गस्तीसमेत गर्ने भएको छ ।
भारतीय प्रधानमन्त्रीको सुरक्षालाई बढी व्यवस्थित र विश्वासिलो बनाउन नेपाली सेनाको विशेष विमानले हवाई गस्ती गर्ने भएको छ ।
‘भारतीय प्रधानमन्त्री मोदीको सुरक्षाका लागि सरकारले सुरक्षा प्रबन्धलाई व्यवस्थित गर्न उनी सवार सडकमार्गमाथि नेपाली सेनाको विशेष विमानले हवाई गस्ती गर्नेछ,’ गृहमन्त्रालय स्रोतले भन्यो ।
मन्त्रालय स्रोतका अनुसार मोदी भ्रमण अवधिभर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको विशेष टोलीलाई गृह सचिवको नेतृत्वमा रहेको अनुगमन समितिले परिचालन गर्नेछ ।
मोदीको सुरक्षाका लागि भारतबाट नेसनल सेक्युरिटी गार्डका सुरक्षा अधिकारीहरु बिहीबार नै नेपाल आइसकेकाले उनीहरु नेपाली सुरक्षा अधिकारीहरुसँग समन्वय गरी सुरक्षा प्रबन्ध गरिरहेका छन् ।
‘आफ्नो मुलुकका कार्यकारी प्रमुखको सुरक्षाका लागि सुरक्षाकर्मीहरु आउने परम्परा हुन्छ, त्यहीअनुसार भारतीय सुरक्षाकर्मीहरुले नेपाली सुरक्षा अधिकारीहरुसँग मिलेर सुरक्षा प्रबन्ध तथा भ्रमणस्थल र भेटवार्ता गर्ने स्थानहरुको रेकी गरिरहेका छन्,’ सुरक्षा स्रोतले भन्यो । राजधानी दैनिकमा खबर छ ।