काठमाण्डु, १७ साउन– सरकारले पहिरोले थुनिएको सुनकोसी नदी फुटेर भयावह क्षति हुन सक्ने भन्दै सिन्धुपाल्चोकसहित, रामेछाप, खोटाङ, सुनसरी र सप्तरीसम्मका नदी किनारका बासिन्दालाई घर छाडेर सुरक्षित स्थानतर्फ लाग्न आग्रह गरेको छ ।
उपप्रधान एवम् गृहमन्त्री बामदेव गौतमको अध्यक्षतामा बिहान बसेको केन्द्रीय दैवीप्रकोप उद्धार समितिको बैठकले ती क्षेत्रलाई संकटग्रस्त घोषणा गर्दै घर छाड्.न सर्वसाधारणलाई आग्रह गरेको हो ।
बैठकले सम्भाव्य प्रभावित क्षेत्रबाट स्थानीयलाई अन्यत्र सार्न सम्वद्ध जिल्लाका स्थानीय प्रशासनलाई निर्देशन दिइएको शान्ति समन्वय महाशाखा प्रमुख एव्म गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिए ।
यस्तै बैठकले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा सक्रिय हुन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । समितिले नदी फुटेर किनाराका बस्तीमा क्षति हुन सक्ने भन्दै तत्काल विस्फोटन गराएर नदी खोल्न निर्देशन दिएको ढकालले बताए ।
निर्देशन लगत्तै सैनिक जनरल पवनकुमार कार्की नेतृत्वको टोली बाँध फुटाउने कार्यमा खटिएको ढकालको भनाइ छ । बैठकमा भौतिक योजना तथा निर्माण, स्वास्थ्य र सहरी विकासमन्त्री, मुख्य सचिव र सचिवहरु समेत सहभागी थिए ।