काठमाण्डु, १७ साउन–कुखुराको मासुमा ८० प्रतिशतसम्म ‘एन्टिबायोटिक’ औषधिको मात्रा भेटिएको छ ।
पशुस्वास्थ्थ निर्देशनालयअन्तर्गतको भेटेनरी जनस्वास्थ्य कार्यालयले असार अन्तिममा मासुमा एन्टिबायोटिक औषधिको अवशेषबारे अध्ययन गरेको थियो ।
पशु चिकित्सकका अनुसार मानव स्वास्थ्यका लागि औषधिको अवशेषयुक्त मासु उपभोगका लागि निकै हानिकारक मानिन्छ ।
थोरै समयमा कुखुराको तौल बढाउन तथा रोगबाट बचाउन मापदण्डभन्दा बढी औषधि प्रयोग भएको हुनाले समस्या आएको पशुविज्ञहरुको ठहर छ ।
कार्यालयले असारमा काभ्रे, भक्तपुर, काठमाण्डु र ललितपुरका विभिन्न पसलबाट कुखुराको मासु र कलेजोको ५०–५० वटा नमुना संकलन गरेको थियो ।
संकलित नमुना अध्ययनपछि कार्यालयले साउन दोस्रो साता निष्कर्षसहित प्रतिवेदन तयार गरेको छ । प्रतिवेदन अनुसार मासु र कलेजोका ती नमुनामध्ये झन्डै ८० प्रतिशतमा नेपालसहित अन्य मुलुकले आयात र प्रयोगमा प्रतिबन्ध लगाएको अत्यन्त हानिकारक मानिने एन्टिवायोटिक औषधिको अवशेष छ ।
उच्च परिमाणमा भेटिएको औषधिको अवेशषयुक्त मासु सेवन गर्दा विकलांग, बच्चा जन्मिने, ब्रेन ट्युमर , गर्भपतन र ह्रदयाघात हुने, मिर्गौला वबग्रने, रगतमा हेमोग्लोविनको मात्रा कम हुने लगायतका रोग लाग्न सक्छ ।
यसका साथै यस्तो मासु सेवन गरेको मानिस वबरामी पर्दा सामान्य औषधि र मासुमा पाइएको औषधि समूहको औषधिले छुँदैन । आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।