सुर्खेत, १७ साउन– सुर्खेतका प्रमुख जिल्ला अधिकारी दिलबहादुर घिमिरेको सुरक्षार्थ खटिएका प्रहरी जवानले पेस्तोलले कन्चटमा गोली हानेर आत्महत्या गरेका छन् ।
ढिकपुर–७ दाङ घरभएका २८ वर्षीय शिवकुमार केसीले शुक्रबार साँझ आफू बस्ने क्वाटरमै सुरक्षागार्ड कमान्डरले प्रयोग गर्ने ७.६२ एमएमको चाइनिज पेस्तोलले गोली हानेर आत्महत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रकाश अधिकारीले प्रहरी हवलदार नवराज श्रेष्ठ ड्युटी सकेर नुहाउन गएका बेला प्रहरी जवान केसीले सिरानमुनि राखेको पेस्तोल आफैंमाथि प्रहार गरेको जानकारी दिए ।
घटनालगत्तै केसीलाई उपचारका लागि मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुर्याएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । अन्य प्रहरीले सिडिओ क्वाटरभित्र धुवाँको मुस्लो देखेपछि सुरक्षागार्ड कमान्डरलाई खबर गरेका थिए ।