सिन्धुपाल्चोक, १७ साउन– सिन्धुपाल्चोकको राम्चे गाविसको जुरेमा भीषण पहिरो जाँदा सुनकोसी नदी थुनिएको छ ।
अहिलेसम्म पहिरोमा पुरिएर मृत्यु भएका ८ जनाको शव फेला परेको छ । मृतकमध्ये माङ्खा–१ का विमला श्रेष्ठ र श्याम श्रेष्ठको मात्र सनाखत भएको छ ।
मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । पहिरोमा पुरिएका २० जनालाई उद्धार गरी होलिकोप्टरमार्फत उपकारका लागि काठमाण्डु ल्याइएको छ ।
बिहान तीन बजेको समयमा गएको पहिरोले नदी थुनिएर बाढी बस्ती पस्ने खतरा बढेपछि लामासाँघुसहित कोसी किनारका गाउँ जोखिममा परेका छन् । नदीबाट करिब ८० मिटर माथिसम्म पानीको ताल जमेको छ ।
नदी फुट्ने खतरा बढेपछि नदी किनाराका बाह्रबिसे, लामाचौर, बलेसी, सुकुटे लगायत दर्जनौं गाविसका हजारौं सर्वसाधारण घर छाडेर सुरक्षित स्थानतर्फ गएका छन् । पहिरोले करिब ४० घर पूरै बगाएको छ । पानीको सतह अरनिको राजमार्गसम्मै आइपुगेको छ । सडकसम्म पानी आएपछि अरनिको राजमार्गको लोलालघाटदेखि बाह्रबिसेसम्म यातायात सेवा प्रभावित भएको छ ।
पहिरो झर्ने क्रम अझै रोकिएको छैन ।
नेपाली सेना र प्रहरी उद्धारका लागि पुगे पनि पहिलो खस्ने क्रम नरोकिएका कारण सर्वसाधारणसँगै भागेका छन् । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली, प्रहरी नायब उपरीक्षक बोहोरा र नेपाली सेनाका प्रमुख सेनानी सुरेश कार्की घटनास्थल पुगेका छन् ।
यसैबीच प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकोप्टरले हवाई गस्ती गरेको छ । विस्फोट गरी नदी खोल्न प्राविधिक अध्ययनका लागि सैनिक हेलिकोप्टरले गस्ती गरेको हो ।