कञ्चनपुर, १७ साउन– प्रहरीको सक्रियतापछि कञ्चनपुरमा पछिल्लो समय लुटपाट, चोरीलगायतका आपराधिक घटनामा कमी आएको छ ।
सदरमुकामको पहुँचबाट टाढा रहेका गाउँगाउँमा अस्थायी प्रहरी चौकी विट खडा गरेपछि त्यस्ता घटनामा कमी आएको हो ।
जिल्लामै बढी लुटपाट हुने ठाउँका रुपमा चिनिने बाणी, बङ्क, कलुवापुर, बन्साह, बेलौरी क्षेत्रमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले प्रहरी चौकी तथा विट स्थापना गरेपछि गाउँमा शान्ति छाएको स्थानीय बताउँछन् ।
सशस्त्र द्वन्द्व अन्त्यपछि गाउँमा प्रहरी चौकी पुन: स्थापित भएपछि यस्ता घटनामा कमी आएको प्रहरीले जनाएको छ । जिल्लाभर ३४ प्रहरी चौकी, विट तथा इलाका स्थापना गरिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।