चितवन, १६ साउन– गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या आरोपमा संलग्न रहेको आरोप लागेका थप दुईजना धरौटीमा रिहा भएका छन् ।
हत्या आरोपमा पक्राउ पूर्जी जारी गरिएका १३ मध्ये थप दुई जनालाई जिल्ला अदालत चितवनले शुक्रबार धरौटीमा रिहा गरेको हो ।
रिहा हुनेमा फुजेलका सीता अधिकारी र विष्णु तिवारी छन् । अधिकारीलाई शुद्ध तारेखमा र तिवारीलाई २० हजार धरौटीमा रिहा गरिएको हो ।
अदालतका नायबसुब्बा जयनारायण आचार्यले न्यायाधीश विनोदमोहन आचार्यको इजलासमा थुनछेक आदेशपछि उनीहरुलाई धरौटीमा छाडिएको जानकारी दिए ।
उनले घटनामा संलग्न रहेको ठोस प्रमाण फेला नपरेकाले रिहा गरिएको बताए । यसअघि बिहीबार मात्र अधिकारी हत्या आरोपमा मुद्धा दायर गरिएका हिमलाल अधिकारी, कालिप्रसाद अधिकारी, मेघनाथ पौडेल धरौटीमा छुटेका थिए ।
हत्यामा संलग्न रहेको आरोपमा १३ जनाविरुद्ध मुद्धा दायर गरिएकामा ८ जना रिहा भएका छन् । अधिकारीको २०६१ जेठ २४ गते चितवनको जयमंगलामा हत्या भएको थियो ।