काठमाण्डु, १६ साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा उनलाई १९ तोपको सलामी दिइने भएको छ ।
आइतबार अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेबित्तिकै मोदीलाई १९ तोपको सलामी दिइने भएको हो ।
मोदी भ्रमणबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेपाली सेनाको विशेष टोलीले मोदीको सम्मानमा १९ तोपको सलामी दिने जानकारी दिए ।
राजकीय भ्रमणमा आउने विशिष्ट विदेशी पाहुनालाई त्यस्तो सम्मान दिने गरिन्छ । यस्तै पाण्डेले मोदीसँग कोही पनि भारतीयमन्त्री नआउने बताए ।
यसअघि मोदीसँग परराष्ट्र र जलस्रोत माललासहित केही भारतीय मन्त्री नेपाल आउने बताइएको थियो । पाण्डेका अनुसार मोदीसँग उनका सुरक्षा सल्लाहकार र परराष्ट्र सचिव आउने छन् ।
द्धिपक्षीय वार्ताका क्रममा मोदी नेतृत्वमा नौ सदस्यीय टोली सहभागी हुने पाण्डेले जनाए । परराष्ट्रमन्त्री पाण्डेले मन्त्री नआउने भएपछि द्विपक्षीय सहमतिमा सचिवस्तरमा हस्ताक्ष हुने उल्लेख गरे ।