मोदी बस्ने नयाँ सिट बनाउन जुट्यो संसद

काठमाण्डु टुडे २०७१ साउन १६ गते ८:५३ मा प्रकाशित

काठमाण्डु, १६ साउन–  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा संवोधन गर्न व्यवस्थापिका संसदको ड्यासमा नयाँ पोडियम (सिट) बनाएर राखिने भएको छ ।

narendra modiकार्यव्यवस्था परामर्श समितिको शुक्रबार बसेको बैठकले संसदमा सम्बोधनका लागि आउँदा मोदीलाई राख्ने स्थान टुङ्गो लगाएको हो । छुट्टै पोडियम बनाएर ड्यासमै राख्ने निर्णय भएको समितिले जानकारी दिएको छ ।

यसअघि मोदीलाई ड्याममा राख्दा प्रधानमन्त्री भने तल सभासदहरुसँगै अगाडिको लहरमा हुने भएकाले प्रोटोकल नमिल्ने हो कि भन्ने चर्चा चलेको थियो ।

दुई दिने नेपाल भ्रमणका क्रममा आइतबार बिहान काठमाण्डु आउने मोदीले अपराहृन ४० मीनेट संसदलाई सम्बोधन गर्नेछन् । नेपालको संसदमा विदेशी सरकार तथा राष्ट्रप्रमुखले रोष्टममै उभिएर सम्बोधन गर्न लागेको यो पहिलो घटना हो ।

भारतीय प्रधानमन्त्री मोदीलाई संसदको गेटमा पुग्दा सभामुख नेम्वाङले स्वागत गर्नेछन् । मोदीलाई रातो कार्पेटबाट सभामुखको चेम्बरमा लगिनेछ, जहाँ भेटका लागि कार्यकक्षलाई चिटिक्क बनाउने काम भइरहेको छ ।

भारतीय प्रधानमन्त्री मोदी र सभामुख नेम्वाङबीच २५ मिनेट वार्ता हुनेछ । यो वार्ताका क्रममा नेम्वाङले मोदीलाई विशेष इलामे चियाले स्वागत गर्नेछन् ।

सभामुखसँगको भेटपछि मोदीले संसदमा गएर सम्बोधन गर्नेछन् । मोदीलाई बाहिरिनुअघि सभामुखले धन्यवाद प्रस्ताव पारित गर्दै संसदको बैठक आधा घण्टाका लागि स्थगित गर्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us