म्याग्दी, १५ साउन– सामाजिक सञ्जाल फेसबुकबाट बसेको पिरतीले एक जोडीलाई हिरासतमा पुर्याएको छ ।
विदेशमा रहँदा पोखराकी एक महिलासँग फेसबुकमार्फत बढेको मित्रताको सम्बन्धलाई विवाहमा बदलेपछि म्याग्दीका चित्रमान छन्त्याल बहुविवाह मुद्दामा पक्राउ परेका हुन् ।
जेठी श्रीमतीले बहुविवाह गरेको उजुरी दिएपछि प्रहरीले दुवैजनालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिमलकुमार उपाध्यायले बताए ।
उनका अनुसार रोजगारीको सिलसिलामा विदेशमा रहेका छन्त्याल र विवाहित ती महिलाबीच फेसबुकमार्फत सम्पर्क भएको थियो । फेसबुक, स्काइप, भाइबर र फोन हुँदै गहिरिएको पिरतीलाई छन्त्याल नेपाल फर्कने बित्तिकै दुवैजना काठमाण्डुमा भेटेर विवाहमा परिणत गरेका थिए ।
प्रहरीले अनुसन्धान प्रभावित हुने भन्दै बहुविवाह गर्ने महिलाका बारे केही बताएको छैन । प्रहरीले यस्ता घटनामा सामाजिक सञ्जालको दुरुपयोग हुँदै आएको जनाएको छ ।
‘यो त सामाजिक सञ्जालको दुरुपयोग गर्दा भएको एउटा उदाहरण मात्र हो’, उपाध्यायले भने, ‘सामाजिक सञ्जालको प्रयोग र व्यक्तिगत सम्बन्धमा संवेदनशील नबन्दा धेरैका परिवार विखण्डनको अवस्थामा पुगेको छ ।’