पर्वत, १५ साउन– पर्वत सदरमुकाम कुस्माबजारमा पछिल्लो समयमा चोरी तथा लागुऔषध प्रयोगका घटना बढेपछि प्रहरीले २४ सै घण्टा गस्ती बढाएको छ ।
चोरी तथा लागुऔषध र रक्सी सेवन गरी होहल्ला गर्ने घटना न्यूनीकरण गर्न जिल्ला प्रहरी कार्यालय पर्वतले कुस्मामा गस्ती बढाएको हो । रात्रि गस्ती बढाएपछि चोरीका घटनामा कमी आएको प्रहरीले जनाएको छ ।
प्रहरीले केही १५ भन्दा बढी लागुऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिएको छ । साउन पहिलो सातादेखि गस्तीका लागि मुख्य चोकचोकमा गस्ती टोली खटाइएको छ ।
पर्वत प्रहरी प्रमुख नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले कुस्मामा आपराधिक क्रियाकलाप रोक्नका लागि गस्ती बढाएको बताए ।
श्रेष्ठले कुस्माका होटलमा देहव्यापार हुन नदिन निगरानी बढाउने तथा राजमार्ग क्षेत्रमा घरेलु मदिरा फाल्ने अभियान छिट्टै सुरु गर्ने जानकारी दिए ।