१६ वर्ष पछि पर्यटन विभाग ब्युँत्याइयो

काठमाण्डु टुडे २०७१ साउन ११ गते १३:१७ मा प्रकाशित

काठमाण्डु , ११ साउन –  विघटन गरिएको १६ वर्षपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विभाग ब्युँत्याएको छ ।

सरकारले सन् १९९८ मा विभाग विघटन गरी सार्वजनिक–निजी साझेदारी (पीपीपी)को अवधारणामा नेपाल पर्यटन बोर्ड गठन गरेको थियो । पछिल्ला केही वर्षयता प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रकरणमा राजनीतिक हस्तक्षेपसँगै बोर्डको कामबाट ‘सन्तुष्ट’ नभएपछि पर्यटन मन्त्रालयले पर्यटन विभाग ब्युँताउने प्रस्ताव लिएर मन्त्रिपरिषद गएको थियो ।

मन्त्रालयले पर्यटन विभाग पुनः सञ्चालन गर्ने लगेको प्रस्ताव मन्त्रिपरिषदअन्तर्गतको प्रशासन समितिले अनुमोदन गरेपछि विभाग गठन गर्न बाटो खुलेको हो। मन्त्रालयका प्रवक्ता मोहनकृष्ण सापकोटाले भने, ‘ साउन पहिलो साता बसेको मन्त्रिपरिषद्को बैठकले विभाग गठन गर्ने निर्णय गरेको छ ।’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा मुलुकको पर्यटन प्रवर्द्धन गर्ने जिम्मेवारी बोकेको बोर्डमा निजी क्षेत्रका पर्यटन व्यवसायीले ५२ दिनसम्म पर्यटन बोर्डको कामकारबाही नै ठप्प पारेपछि प्रवर्द्धनका काम सबै रोकिए ।

यही मौकामा सरकार विभाग व्युँताउने तयारीमा जुटेको थियो । प्रवक्ता सापकोटाका अनुसार विभाग सञ्चालनमा आउन अझैँ एक महिना लाग्छ । भृकुटीमण्डपमा रहेको पर्यटन उद्योग महाशाखालाई गाभेर विभाग बनाइने जानकारी उनले दिए ।

उनले भने, ‘हामीले विभागको लागि तयारी गरिरहेका छौँ । तर केही समय लाग्छ । महाशाखाको ठाउँले पनि नपुग्न सक्छ । त्यही भएर भित्री तयारी गरिरहेका छौँ ।’ पर्यटन विभागले पर्यटन पूर्वाधार, नयाँ गन्तव्य पहिचान, गुणस्तरीय सेवा, आन्तरिक पर्यटन प्रवर्द्धन, पर्यटन योजना, पर्यटन सेवा गुणस्तर नियन्त्रण, पर्यटन आचारसंहिता, पर्यटक सुरक्षा, क्यासिनो दर्ता, रोयल्टी उठाउने, नवीकरण गर्ने,  होटल, ट्राभल, ट्रेकिङ दर्ता, नवीकरण, पर्वतारोहण अनुमति, सलामी दस्तुर उठाउनेलगायत काम गर्नेछ। ‘विभागले सर्भिस डेलिभरी, पर्यटन क्षेत्रको संरचना विकास र पर्यटकको सुरक्षा गर्न गठन गरिएको हो, ‘ मन्त्रालयका प्रवक्ता सापकोटा भन्छन्, ‘ मन्त्रालय अन्तर्गत रहेको पूर्वाधार विकास आयोजनाका सबै कर्मचारी विभागमा जान्छन् । र पर्यटन महाशाखाका सबै काम विभागमा सारिने छ ।’ उनका अनुसार विभागको नेतृत्व सहसचिव स्तरका महानिर्देशकले गर्नेछन्।एकजना उपमहानिर्देशक पनि सहसचिव स्तरकै रहनेछन्।

‘विभागमा कति दरबन्दी हुने भन्ने स्वीकृत भइसकेको छ, यो महाशाखामा एक सहसचिवको नेतृत्वमा ५८ कर्मचारी हुनेछन्, ‘ प्रवक्ता सापकोटाले भने । मन्त्रालयका एक अधिकारीका अनुसार मन्त्री भीम आचार्य र तत्कालीन सचिव सुशील घिमिरे बोर्डको कामप्रति सन्तुष्ट नभएपछि विभाग गठन गर्ने निर्णयमा पुगेका हुन् ।

ती अधिकारी भन्छन्, ‘मन्त्री र तत्कालीन सचिव बोर्डका कर्मचारी भन्दा पनि पर्यटन व्यवसायी प्रति नै बढी असन्तुष्ट हुनु भएको थियो । त्यही भएर बोर्डको कामहरु विस्तारै विभागमा गाभ्दै जाने गरि विभाग व्युँताइएको हो।’

यसरी बोर्डमा देखिएको विवाद लामो समयसम्म पनि समाधान हुन नसकेको भन्दै विभाग गठनको तयारी भएपछि पर्यटनकर्मीहरू भने निराश बनेका छन् । ट्रेकिङ एजेन्सीज एसोसियसन अफ नेपाल (टान) का अध्यक्ष रमेश धमला भने बोर्डमा गाभ्ने कुरा उपयुक्त नभएको बताउँछन् । उनले भने, ‘सरकारले एउटा व्यक्तिलाई बचाउ गर्न बोर्ड नै खारेज गर्ने कुरा गर्नु भनेको सरकारको प्रतिगामी कदम हो ।’ तर मन्त्री र सचिवस्तरमा छलफल हुँदा बोर्डलाई गाभ्ने सोचाइ नै नभएको धमलाले बताए ।

उनले थपे, ‘सरकारले बोर्डलाई गाभ्ने निर्णय गर्छ भने व्यवस्थापनमा असफल देखिन्छ । त्यही भएर बोर्डको नेतृत्व निजी क्षेत्रलाई दिनुपर्छ भन्दै आएका छौं ।’ सरकारले यसअघि सन् १९९८ को अक्टोबरमा पर्यटन विभाग खारेज गरी पर्यटन बोर्ड गठन गरेको थियो।

सुरुवातमा बोर्डको काम सन्तोषजनक भए पनि पछिल्ला वर्ष पर्यटन प्रवर्द्धन सन्तोषजनक नभएको र संस्थाभित्र ‘भ्रष्टाचार’ मौलाएको निजी क्षेत्रले आरोप लगाउँदै आएको थियो।

विजमाण्डुबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us