गाजामा युद्धविरामका लागि संयुक्त राष्ट्रसंघद्वारा अपिल

काठमाण्डु टुडे २०७१ साउन ५ गते १२:१७ मा प्रकाशित

गाजा सिटी, (प्यालेस्टाइन क्षेत्र), ५ साउन – संयुक्त राष्ट्रसंघले तत्कालै युद्ध विरामका लागि इजरायलसँग सोमबार आग्रह गरेको छ ।

गएको करिब दुई हप्तादेखि इजरायलको आक्रमणमा परी गाजामा नागरिक हताहतिको सङ्ख्या बढ्दै गएपछि राष्ट्रसङ्घीय सुरक्षा परिष्दले तत्कालै युद्धविरामका लागि आग्रह गरेको हो ।

सोमबार एक विज्ञप्ति प्रकाशन गरी सो आग्रह गरेको बताइएको छ । उता सोमबारै पनि बिहानैदेखि इजरायलले गाजापट्टिमा आक्रमण सुरु गरेको अर्काे एक समाचारमा जनाइएको छ ।

प्राप्त समाचारअनुसार सोमबारको सो आक्रमणसँगै इजरायलमा मारिनेको सङ्ख्या ५०० पुगेको समाचारमा जनाइएको छ ।

सोमबार बिहान भएको इजरायली आक्रमणमा परी कम्तीमा पनि १० जना मारिएका छन् । ती मारिनेमध्ये आधाभन्दा बढी बालबालिका परेको समाचारमा उल्लेख गरिएको छ ।

उक्त हत्यालाई नरसंहारको संज्ञा दिँदै प्यालेस्टाइनी अधिकारीहरुले न्यायका लागि अन्तर्राष्ट्रिय रुपमा पनि अपिल गरेका छन् ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि सोमबार बिहानै इजरायली प्रधानमन्त्री बेन्यामित नेतान्याहुलाई टेलिफोन गरी युद्धविरामका लागि आग्रह गरेका अर्काे एक समाचारमा जनाइएको छ ।

साथै अर्काे एक समाचारअनुसार इजरायलमा युद्धविरामको अन्त्यका लागि आवश्यक पहल गर्न भन्दै अमेरिकी विदेश मन्त्री जोन केरी इजरायलतर्फ प्रस्थान गरेका छन् ।

इजरायलले प्यालेस्टाइनी गाजा क्षेत्रमा सुरु गरेको आक्रमणको आज १४ औँ दिनमा आइपुग्दा सो आक्रमणमा परी मारिनेको सङ्ख्या ५०२ पुगेको बताइएको छ ।

सोमबार बिहान गरिएको क्षेप्यास्त्र हमलामा परी एकै परिवारका दश जनाको ज्यान गएको र त्यसमा सातजना बालबालिकाका परेका समाचारमा जनाइएको छ ।

गत १४ दिनयता भएका ती आक्रमणहरुमा दुई हजारभन्दा बढी प्यालेस्टिनी घाइते भएका छन् । ती मध्ये अधिकांश गम्भीर घाइते भएका र उनीहरुको उपचार जारी रहेको छ ।

गत जुलाई ८ बाट इजरायलले सो गाजा क्षेत्रमा हमला सुरु गरेको हो । इजरायलतर्फ भने रकेट आक्रमणमा केहीमात्र सर्वसधारणको मृत्यु भएको जनाइएको छ । इजरायलले पनि त्यहाँ आक्रमण भएको जनाएको छ ।

त्यसैगरी आइतबार गाजा सहरमा केही इजरायली सैनिकको मृत्यु भएको बताइएको छ । आइतबारको आक्रमणमा गाजामा १३ जना इजरायली सैनिक मारिएको बताइएको थियो ।

तर सो सङ्ख्या सोमबार बढेको जनाइएको छ । गाजामा मारिएका इजरायली सैनिकको सङ्ख्या १८ पुगेको सोमबार बिहान जनाइएको छ ।

यसैबीच प्राप्त समाचार अनुसार इजरायलले आक्रमण नरोक्ने जनाएको छ ।

उसले सोमबार पनि बिहानैदेखि सुरु गरेको आक्रमणमा परी थप नागरिक मारिएको बताइएको छ । तर त्यसको यथार्थ विवरण भने आएको छैन । एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us