कञ्चनपुर, ५ साउन – बाढी पहिरोका कारण सुदूरपश्चिममा चार दिनको अवधिमा आठ जनाको ज्यान गएको छ ।
सुदूरपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय दिपायलका अनुसार बाढीबाट सबैभन्दा बढी पाँच जना, पहिरोबाट दुई जना र भीरबाट खसेर एक जनाको ज्यान गएको छ ।
बाढी आएको नदी र खोलामा बगेर कञ्चनपुरका दुई जना, कैलालीका एक जना, डोटीका एक जना र डडेल्धुराका एक जनाले ज्यान गुमाएका छन् ।
घाँस काट्दै गरेका बेला भीरबाट चिप्लेर बझाङका एक जना र पहिरोमा पुरिएर बैतडीका दुई जनाको ज्यान गएको छ ।
साउन १ गतेदेखि ४ गतेसम्मको अवधिमा ती घटना भएका हुन् । सोही अवधिमा बाढीबाट ६०० भन्दाबढी परिवार डुबानमा र ३०० भन्दा बढी परिवार विस्थापनमा परेका छन् ।