काठमाण्डु , ४ साउन – व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई विगत पाँच वर्षको लेखापरीक्षणको कागजात तीन दिनभित्र पेस गर्न निर्देशन दिएको छ ।
समितिको आइतबारको बैठकले सङ्घका अध्यक्ष गणेश थापालाई सबै कागजातसहित तोकिएको सयमसीमाभित्र उपस्थित हुन निर्देशन दिएको हो ।
खेलाडीको वृत्ति विकासका लागि कतारले उपलब्ध गराएको एक लाख अमेरिकी डलर अनियमितता भएको र व्यक्तिगत प्रयोजनका लागि खर्च भएको भन्ने गुनासो आम रुपमा आएपछि लेखाले सो विषयमा छानबिन गरेको हो ।
कतारका फुटबल अधिकारी मोहम्मद विन हमामले पठाएको रकम थापाका छोरा सौरभ थापाको खातामा आएको र सो रकममा व्यापक अनियमितता भएको भन्दै सङ्घका उपाध्यक्ष कर्माछिरिङ शेर्पालगायतका पदाधिकारीले लेखा समितिमा निवेदन दिएका थिए ।
“आज हामीले पाँच वर्षको सम्पूर्ण कागजात र हिसाब किताब मागेका छौँ, अनियमितता भएको भन्ने सन्दर्भमा व्यापक छानबिन हुन्छ,” लेखा समितिका सदस्य धनराज गुरुङले बताए । तर अध्यक्ष थापाले भने हमामले उपलब्ध गराएको रकम व्यापार–व्यवसायका लागि उपलब्ध गराएको दलील पेस गर्दै आएका छन् ।
“कुनै पनि सार्वजनिक निकायमा रहेका व्यक्तिमाथि उजुरी परिसकेपछि त्यसको चित्तबुझ्दो जवाफ दिनुपर्छ, नातागोता भनेर थापाको विषयमा पनि पन्छिन् मिल्दैन र हुँदैन, हामी सार्वभौम जनप्रतिनिधि भएका कारण तथ्यमा रहेर छानबिन गर्छौं, सत्य पत्ता लगाउँछौँ,” सभासद् गुरुङले भने – “खेलाडीका लागि भनेर आएको पैसा अन्यत्र खर्च गर्न पाइँदैन, यो भ्रष्टाचार ठहर्छ ।”
समितिको अर्को बैठक यही साउन ११ गते बस्नेछ ।