वीरगन्ज ४ साउन –पर्साको ग्रामीण भेगमा भाइरल ज्वरोका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।
ग्रामीण भेगका ठोरी, निर्मलवस्ती र सुवर्णपुर गाविसमा भाइरल ज्वरोको बिरामी बढेका हुन् । दूषित पानीको प्रयोग गर्दा भाइरल ज्वरोले समात्ने सुवर्णपुर स्वास्थ्य चौकीका इन्चार्ज रमेशराज थिङले बताए ।
सुवर्णपुर स्वास्थ्य चौकीमा दैनिक तीन दर्जनभन्दा बढी भाइरल ज्वरोका बिरामी आउने गरेको इन्चार्ज बताए । । त्यस्तै निर्मलवस्ती गाविसको स्वास्थ्य चौकीमा पनि दैनिक ३० जना भाइरल ज्वरोका बिरामी आउने गरेको स्वास्थ्य चौकी इन्चार्ज रामसेवक पाण्डेले बताए ।
वर्षाको दूषित पानी प्रयोग र घरवरपर सरसफाइ नहँुदा भाइरल ज्वरोको सङ्क्रमण हुने चिकित्सकहरु बताउँछन् । निर्मलवस्ती स्वास्थ्य चौकीमा दुईदेखि पाँच वर्ष र १५ देखि ६० वर्षसम्मका बिरामी धेरै आउने गरेको इन्चार्ज पाण्डेले जानकारी दिए ।
त्यसैगरी ठोरीको निजी स्वास्थ्य क्लिनिकमा पनि दैनिक ३० जना भाइरल ज्वरोका बिरामी आउने गरेको ठोरी–३ सरस्वती चोकका जनसेवा स्वास्थ्य क्लिनिकका सञ्चालक दीपेन्द्र कार्कीले बताए ।
उहाँको निजी स्वास्थ्य क्लिनिकमा ठोरीसँग सीमा जोडिएको चितवनको बाँदरझुलाबाट उपचारका लागि आएका बिरामीमा पनि भाइरल ज्वरो देखिएको उनले भने ।
भाइरल ज्वारोबाट बच्न पानीलाई उमालेर अथवा निर्मलीकरण गरेर मात्र पिउन, आराम गर्न र घाममा नहिँड्न चिकित्सकले सुझाव दिएका छन् ।